चमेली कल्याणकारी साकोसको २४औँ वार्षिक साधारण सम्पन्न,अध्यक्षमा मिठाराम न्यौपाने चयन

भक्तपुर । सूर्यविनायक नगरपालिका–१ बिरुवा स्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभाले मिठाराम न्यौपानेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन गरेको हो । साधारण सभाबाट अध्यक्षमा मिठाराम न्यौपाने, उपाध्यक्षमा शालिकराम घिमिरे, सचिवमा प्रकाश न्यौपाने र कोषाध्यक्षमा तीर्थराज चौलागाईं चयन भएका छन् । त्यसैगरी सञ्चालक समितिको सदस्यमा अम्बिका चौलागाईं घिमिरे, विना गिरी, मीना खड्का, पुरुषोत्तम थापा र कमलप्रसाद न्यौपाने चयन भएका छन् । साधारण सभाबाट संस्थाको आर्थिक कारोबार तथा वित्तीय गतिविधिको निगरानी र परीक्षणका लागि लेखा सुपरीवेक्षण समितिको संयोजकमा नवराज घिमिरे चयन भएका छन् भने सदस्यमा हरेराम चौलागाईं र पवनकुमार थापा चयन भएका छन् । यसअघि साधारण सभामा साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८२।८३ मा १ अर्ब ७ करोड ८ लाख २२ हजार २८४ रुपैयाँको कुल कारोबार गर्न सफल भएको जानकारी दिइएको छ । साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष प्रमोद घिमिरेले आर्थिक वर्ष २०८२।८३ मा संस्थाले उल्लेख्य वित्तीय कारोबार गर्न सफल भएको बताए । संस्थाले सदस्यको बचत संकलन तथा ऋण लगानीलाई व्यवस्थित गर्दै वित्तीय गतिविधिलाई निरन्तर विस्तार गर्दै आएको उनको भनाइ थियो । संस्थाका सचिव दीपककुमार न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनअनुसार समीक्षा अवधिमा संस्थाको सदस्य संख्या ०.१० प्रतिशतले वृद्धि भएको छ । यस्तै, शेयर पुँजी ४.३८ प्रतिशत, बचत ९.७५ प्रतिशत, विभिन्न कोष १९ प्रतिशत, ऋण लगानी १.७५ प्रतिशत र कुल सम्पत्ति १०.५४ प्रतिशतले वृद्धि भएको जनाइएको छ । संस्थाका कोषाध्यक्ष नवराज घिमिरेले विसं २०५९ मा ३ हजार ४ सय रुपैयाँबाट वित्तीय कारोबारको यात्रा सुरु गरेको संस्थाले हाल १ अर्ब ७ करोड ८ लाख २२ हजार २८४ रुपैयाँको कुल कारोबार गर्न सफल भएको बताए । संस्थाले आफ्नो वित्तीय गतिविधिलाई क्रमशः विस्तार गर्दै सदस्यकेन्द्रित सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको उनले उल्लेख गरे ।

कोषाध्यक्ष घिमिरेका अनुसार संस्थाले आर्थिक वर्ष २०८२।८३ मा १ करोड ९३ लाख ६१ हजार ४५७ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको नाफाबाट शेयर सदस्यलाई १० प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्तावसमेत साधारण सभामा प्रस्तुत गरिएको छ । सभामा संस्थाको वित्तीय अवस्था, कारोबारको विस्तार, सदस्यको सहभागिता तथा आगामी कार्ययोजनालगायतका विषयमा समेत छलफल गरिएको थियो । सहकारीको संस्थागत क्षमता अभिवृद्धि गर्दै सदस्यलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने विषयमा जोड दिइएको थियो । लेखा सुपरीवेक्षण समितिका संयोजक शालिकराम घिमिरेले संस्थाको २३औँ वार्षिक साधारण सभाबाट पारित भएका अधिकांश कार्यक्रम कार्यान्वयन भएको जानकारी दिए । संस्थाले विगतका निर्णय तथा कार्यक्रम कार्यान्वयनमा प्रगति गरे पनि आम समुदाय तथा सदस्यको अझ बढी सहभागिता सुनिश्चित गर्न थप प्रयास आवश्यक रहेको उनले बताए । उनले सहकारीको दिगो विकासका लागि सदस्यको सक्रिय सहभागिता, वित्तीय अनुशासन, पारदर्शिता र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । २४औँ वार्षिक साधारण सभाले संस्थाको विगतको वित्तीय तथा संस्थागत प्रगतिको समीक्षा गर्दै आगामी दिनमा सेवा विस्तार, सदस्यको हित संरक्षण र संस्थालाई थप सुदृढ बनाउने विषयमा आवश्यक योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *