नाडाको बाढीपीडितलाई दोहोरो सहयोग, राहत सामग्रीसँगै सरकारको कोषमा १० लाख रुपैयाँ
काठमाण्डौं । नाडाले भदौ १० गतेको भीषण बाढीबाट प्रभावित नुवाकोट, टिमुरे र रसुवाका नागरिकका लागि विभिन्न राहत सामग्री उपलब्ध गराएको छ। नाडाका अनुसार असोज ३ गते कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधि टोलीले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा राहत सामग्री जिल्ला समन्वय समितिको कार्यालय नुवाकोटलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको नाडाले जनाएको छ।
यसअघि भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोगसमेत उपलब्ध गराएको थियो। यससँगै नाडाले बाढी प्रभावितका लागि नगद र भौतिक सामग्री दुवै माध्यमबाट सहयोग गरेको जनाएको छ। नाडाले सामाजिक उत्तरदायित्वअन्तर्गत विगतदेखि नै प्राकृतिक विपद्का समयमा प्रभावित नागरिकलाई आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने संस्थाको भनाइ छ।

















