६ हजार बढी वडामा सकियो कांग्रेसको अधिवेशन

काठमाडौं । असोज १६–१९ मा तोकिएको महाधिवेशन अन्तर्गत वडा अधिवेशन छिटफुटबाहेक ‘उत्साहपूर्वक’ भएको कांग्रेसले जनाएको छ । असोज ३ र ४ गतेका लागि वडा अधिवेशनको मिति तोकिएको थियो । दुई दिनमा नसकिएका वडामा अहिले पनि अधिवेशन भइरहेको छ । कांग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवा महाधिवेशनको विपक्षमा छन् । उनी महाधिवेशन प्रक्रियामा सहभागी छैनन् । उनीसहित उनी नजिकका नेताहरु अहिले महाधिवेशन प्रक्रियामा सहभागी छैनन् । उनको प्रभाव क्षेत्र मानिएको सुदूरपश्चिम र कर्णालीका सबै वडामा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । देउवाकै गृहजिल्ला डडेलधुराका चारवटा वडामा अधिवेशन प्रक्रिया लम्बिएको थियो । ती चारवटै वडामा मंगलबार अधिवेशन सकिएको उनले जानकारी दिए । क्रियाशील सदस्यता विवाद भएकाले मधेस प्रदेशका पाँच जिल्लाका केही वडामा अधिवेशन हुन बाँकी छ । निर्वाचन समितिका अनुसार सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २, सिरहा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा वडा अधिवेशन भएको छैन । यस्तै, पर्साका दुईवटा वडा र धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा अधिवेशन भएको छैन । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ मा पनि वडा अधिवेशन भएको छैन । सप्तरीमा बुधबारका लागि अधिवेशन तोकिएको कटुवालले बताए । उनले भने, “बाँकी रहेका वडाहरुमा अधिवेशन हुँदैछ । नुवाकोट र धादिङ जिल्लाका वडाहरुमा आज वडा अधिवेशन भएका छन् ।” बाँकी रहेका मधेसका वडाहरुमा पनि विवाद मिलाएर अधिवेशन प्रक्रिया सुरु भएको उनले जानकारी दिए । विवाद देखिएका वडामा केन्द्रले प्रतिनिधि खटाएको छ । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विवादका कारण वडा अधिवेशनमा समस्या भएको सदस्य सचिव कटुवालले बताए । मधेस प्रदेशमा ढिला गरी क्रियाशील सदस्यताको विवरण पुगेकाले वडा अधिवेशनमा समस्या भएको उनको तर्क छ । उनले भने, “क्रियाशील सदस्यताको सूची पठाउन ढिलो भयो । केन्द्रीय कार्यसमितिबाट अध्यावधिक भएका क्रियाशील मतदातालाई मान्यता दिने नीति थियो ।

कार्यसमितिले २०८३ पुस २१ गतेसम्मका क्रियाशील मतदाताहरुलाई समावेश गर्ने निर्णय गरेको छ । त्यो निर्णय पछि क्रियाशील सदस्यहरु थप भएकाले नामावलीमा ढिलो भएको हो । हामीले समयमा पुर्‍याउन नसकिएकाले नै मधेसका केही वडामा समस्या भएको हो । यो पनि प्राविधिक समस्या हो । राजनीतिकरूपमा समस्या छैन ।” केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु टुवालले सुदूरपश्चिममा वडा अधिवेशनस्थलमा कुनै समस्या नआएको बताए । उनले भने, “डडेलधुरामा पनि ५२ वटा वडामध्ये ४८ वडामा अधिवेशन सकिएको छ । चारवटामा पनि मंगलबार सकिएको छ ।” कर्णालीको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकामा समस्या देखिए पनि समाधान भइसकेको उनले बताए । नेपाली कांग्रेसले रसुवा जिल्लामा भने अधिवेशन गरेको छैन । भोटेकोसी नदीमा आएको विनासकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको भन्दै रसुवामा कांग्रेसको अधिवेशन नभएको हो । सम्भवतः असोज ९ गते रसुवामा वडा अधिवेशनको तयारी गरिएको छ । कांग्रेसका अनुसार सोमबार बेलुकासम्म ६ हजार दुई सय ७० वडामा अधिवेशन सकिएको छ । कांग्रेसले नौ लाख बढी क्रियाशील सदस्य रहेको बताएको छ । मंगलबारसम्म वडा अधिवेशन सकेर बुधबारदेखि गाउँ–नगर अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका रहेको छ । कांग्रेसले निर्वाचित जनप्रतिनिधिहरुलाई स्वतः क्रियाशील सदस्य मानेर अधिवेशन गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *