आजदेखि ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ बिक्री खुला
काठमाण्डौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्ड ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’को इकाई बिक्री खुला गर्दैछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाईमार्फत कुल ८० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। निष्काशित इकाईमध्ये कुल बिक्री भएको इकाईको १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिनेछ। फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ। अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ।
लगानीकर्ताले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पर्याप्त आवेदन नपरे निष्काशन अवधि असोज २१ गतेसम्म थप गर्न सकिनेछ। बिक्री खुला तथा थप गरिएको अवधिभित्र न्यूनतम ५० प्रतिशत अर्थात् ४ करोड इकाई खरिदका लागि आवेदन प्राप्त भएमा इकाई बाँडफाँट गर्न सकिनेछ। न्यूनतम इकाई बिक्री नभए योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिने जनाइएको छ। एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो १० वर्ष अवधिको बन्दमुखी योजना हो। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरको वेबसाइट तथा एपमार्फत समेत आवेदन दिन सक्नेछन्।

















