खुलातर्फ केन्द्रीय सदस्यमा इन्द्रबहादुर बानियाँको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीको खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । काठमाडौंको थापाथलीस्थित बानेश्वर हिल्समा आयोजित बागमती प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा बानियाँले खुलातर्फ केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । पार्टीको पदाधिकारी तथा नेतृत्व तहका विभिन्न पदमा आकांक्षीहरूको संख्या बढ्दै गएको अवस्थामा सबैलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको भन्दै उनले आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए । बानियाँले नेपाली कांग्रेसलाई थप सुदृढ, एकताबद्ध र व्यवस्थित बनाएर अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताए ।
कांग्रेसलाई केवल भीडको पार्टी नभई विचार र सिद्धान्तमा आधारित संगठनका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो । ‘नेपाली कांग्रेसलाई सुदृढ र एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता हो । यो पार्टीलाई भीडको पार्टी बन्न दिनु हुँदैन । यो त बीपी कोइरालाले अघि सारेको विचार बोकेको पार्टी हो,’ उनले भने, ‘त्यसकारण अहिले केन्द्रीय सदस्यमा लडेर पार्टीभित्रको व्यवस्थापनमा सहयोग गर्दैछु । हामी सबैले परस्पर सहयोगको भावना राखेर पार्टीलाई बचाउँदै अघि बढ्न जरुरी छ ।’ उनले पार्टीभित्र बढ्दो आकांक्षालाई व्यवस्थापन गर्दै संगठनलाई एकताबद्ध बनाउन सबै नेताले सहयोग र सहकार्यको भावना राख्नुपर्नेमा जोड दिए । अन्तरसंवाद कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका १३ जिल्लाका कांग्रेस सभापति, क्षेत्रीय सभापति, नगर तथा पालिका सभापति तथा विभिन्न तहका महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।



सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *