संविधान र लोकतन्त्रमाथि आँच पुर्याउने जो पनि सजायको भागीदार हुनुपर्छ : लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘एउटा कुरा म के स्पष्ट पार्छु भने संविधानभन्दा माथि र लोकतन्त्र भन्दा ठूलो केही छैन । कोही छैन । रास्वपा यसमा स्पष्ट छ । रवि लामिछाने यसमा स्पष्ट छ,’ लामिछानेले भने । साथै, संविधान र लोकतन्त्रमाथि आँच पुर्याउने कार्य गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्ने उनले बताए । ‘कसैले पनि यसमा द्विविधा लिनुपर्दैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्छ । त्यसले जिम्मेवारी लिनुपर्छ भनेर हामीले स्पष्ट रुपमा भनेका छौं ।

















