एनएमबि बैंकको नाफा २७ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब १६ करोड माथि

काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा आकर्षक वित्तीय प्रगति हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्त (पहिलो त्रैमास) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा २७.११ प्रतिशतले वृद्धि भई १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२।८३ को सोही अवधिमा बैंकको यस्तो नाफा ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ रहेको थियो। बैंकको नाफा बढ्नुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको उल्लेखनीय कमी र खुद ब्याज आम्दानी तथा अन्य सञ्चालन आम्दानीमा भएको सुधार हो। समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ७९ हजार रुपैयाँमा झरेको छ। जुन गत वर्षको पहिलो त्रैमासमा ७१ करोड ३९ लाख ६२ हजार रुपैयाँ थियो। जोखिम व्यवस्थापनबापतको रकम घट्नुका साथै कुल सञ्चालन आम्दानी बढेका कारण बैंकको सञ्चालन मुनाफा २६.१७ प्रतिशतले वृद्धि भई १ अर्ब ८९ करोड ६ लाख रुपैयाँ पुगेको छ। जसको प्रत्यक्ष प्रभाव खुद नाफामा देखिएको हो। बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा ४.१९ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा बढेर २ अर्ब ५९ करोड १५ लाख ६४ हजार रुपैयाँ पुगेको छ। गैरब्याज आम्दानीतर्फ बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ०.७५ प्रतिशतले सामान्य वृद्धि भई ७२ करोड १५ लाख ७४ हजार रुपैयाँ कायम भएको छ, जुन गत वर्ष ७१ करोड ६१ लाख रुपैयाँ थियो। साथै, बैंकको खुद ट्रेडिङ आम्दानी २० करोड ७० लाख र अन्य सञ्चालन आम्दानी १२ करोड ९५ लाख रुपैयाँ पुगेको छ। व्यापार विस्तारतर्फ बैंकले कर्जा तथा निक्षेप दुवैमा वृद्धि गरेको छ। गत आर्थिक वर्षको अन्त्य (असार मसान्त २०८३) को तुलनामा चालु आवको पहिलो तीन महिनामा ग्राहक निक्षेप २.१८ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब ११ करोड रुपैयाँबाट ३ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। सोही अवधिमा ग्राहक कर्जा प्रवाह ३.५४ प्रतिशतले वृद्धि भई २ खर्ब ४९ अर्ब ६१ करोड रुपैयाँबाट २ खर्ब ५८ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ कायम भएको छ। सम्पत्तिको गुणस्तरतर्फ बैंकको कुल निष्क्रिय कर्जा (एनपीएल) गत आर्थिक वर्षको पहिलो त्रैमासको ४.५८ प्रतिशतको तुलनामा केही बढेर ४.९२ प्रतिशत पुगेको छ। यद्यपि, अघिल्लो त्रैमास (असार मसान्त) को ४.९७ प्रतिशतको तुलनामा भने यसमा केही सुधार आएको छ। यस्तै, खुद निष्क्रिय कर्जा (नेट एनपीएल( भने गत वर्षको १.८६ प्रतिशतबाट घटेर १.६० प्रतिशतमा झरेको छ। बैंकको कुल निष्क्रिय कर्जामा कर्जा नोक्सानी व्यवस्थापनको कभरेज गत वर्षको ९२.३३ प्रतिशतबाट सुधारिएर ९४.५३ प्रतिशत पुगेको छ। बजारको ब्याजदर घट्दो क्रममा रहेकाले बैंकको लागत र स्प्रेड दरमा पनि संकुचन देखिएको छ। बैंकको कोषको लागत (कस्ट अफ फन्ड) ४.०५ प्रतिशतबाट घटेर ३.३७ प्रतिशतमा र औसत आधार दर (बेस रेट) ५.८९ प्रतिशतबाट झरेर ४.९५ प्रतिशतमा पुगेको छ। यसैगरी, बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड दर) पनि गत वर्षको ३.८९ प्रतिशतबाट खुम्चिएर ३.४४ प्रतिशत कायम भएको छ। बैंकको कर्जा(निक्षेप अनुपात (सीडी रेसियो) भने ८४.७१ प्रतिशत रहेको छ। नाफामा आएको उच्च वृद्धिसँगै बैंकका अन्य मुख्य वित्तीय सूचकहरूमा पनि सुधार देखिएको छ। बैंकको पुँजीमा प्रतिफल अर्थात् वार्षिकीकरण गरिएको आरओई ११.२६ प्रतिशतबाट बढेर १२.४२ प्रतिशत र सम्पत्तिमा प्रतिफल अर्थात् आरओए १.०३ प्रतिशतबाट बढेर १.१० प्रतिशत पुगेको छ। बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँबाट बढेर २३ रुपैयाँ ८३ पैसा कायम भएको छ। यस अवधिमा बैंकको मूल्य,आम्दानी अनुपात ११.४३ गुणा रहेको छ। अग्राधिकार सेयरसहित २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ३२ पैसा र पुँजी पर्याप्तता अनुपात १२।५३ प्रतिशत कायम भएको छ। गत आवको नाफाबाट लाभांश प्रस्ताव गरे पनि पारित गर्न बाँकी रहेकाले बैंकको वितरणयोग्य नाफा २ अर्ब २५ करोड ७२ लाख रुपैयाँ रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *