डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार
सुर्खेत । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठजना कैदी फरार भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरू शुक्रबार राति कारागारभित्र सुरुङ खनेर फरार भएका हुन् । फरार हुनेमा पाँचजना जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका र तीनजना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति छन् । फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाय, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धन बुढा भनिने हरिबहादुर बुढा रहेका छन् ।
उनीहरू सबै जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए । त्यस्तै, जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका–३ का ३२ वर्षीय आदेश भण्डारी पनि फरार भएका छन् । उनीहरू चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कैदीबन्दीले ४।६३ मिटर लामो सुरुङ खनेर र कारागारको पर्खाल भत्काएर भागेका हुन् । फरार कैदीबन्दीको खोजी सुरु भइसकेको प्रहरीले जनाएको छ ।

















