आईक्यापको स्थायी समिति सदस्यमा कांग्रेस उपसभापति चौधरी निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्थायी (स्ट्यान्डिङ) कमिटी सदस्यमा निर्वाचित भएका छन् । दक्षिण कोरियाको सियोलमा आयोजित आईक्यापको १३औँ महासभाले उनलाई उक्त पदमा निर्वाचित गरेको हो। आईक्यापको स्थायी कमिटीमा भारतका पूर्वविदेशमन्त्री सलमान खुर्सिद, मलेसियाका व्यापार तथा जीवनयापन लागतसम्बन्धी उपमन्त्री डा. फुजिया सल्लेह, श्रीलङ्काका यातायात, राजमार्ग तथा सहरी विकासमन्त्री एवं संसद्का नेता बिमल रत्नायके र जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीकी अन्तर्राष्ट्रिय विभाग निर्देशक तथा हाउस अफ काउन्सिलर्सकी सदस्य माइको ताजिमालगायत एसियाका विभिन्न देशका वरिष्ठ राजनीतिक व्यक्तित्वहरू रहेका छन् । व्यवसाय, उद्यमशीलता तथा सामाजिक क्षेत्रमा लामो अनुभव हासिल गरेका चौधरीको यस निर्वाचनले क्षेत्रीय राजनीतिक संवाद तथा सहकार्यमा नेपालको सहभागितालाई थप सशक्त बनाउनुका साथै नेपालको आर्थिक रूपान्तरण र समावेशी विकासका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। चौधरी नेपाली कांग्रेसको हालै सम्पन्न १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए।
आर्थिक विकास र सुशासनमा जोड दिँदै सम्मेलनलाई सम्बोधन
सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति चौधरीले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रको सशक्तीकरण, लगानी आकर्षण र स्वदेशी उद्योगलाई विश्व बजारसँग जोड्नुपर्ने बताए । दक्षिण कोरियाको आर्थिक विकास मोडल नेपालका लागि अनुकरणीय रहेको उल्लेख गर्दै उनले विश्वस्तरमा ब्रान्ड निर्माण, निजी क्षेत्रको सबलीकरण र सरकार,निजी क्षेत्रबीचको प्रभावकारी सहकार्यबाट दक्षिण कोरियाले अर्थतन्त्रमा उल्लेख्य रूपान्तरण गरेको धारणा राखे। निजी उद्यमलाई विस्तार र प्रतिस्पर्धा गर्न अनुकूल वातावरण बनाउँदै राज्यले रणनीतिक स्वामित्व र विकासको मार्गदर्शक भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । सम्बोधनका क्रममा उनले नेपालमा पछिल्लो समय युवा पुस्ताले उठाएका भ्रष्टाचार, जवाफदेहिता, सुशासन र अवसरसम्बन्धी प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने औँल्याए । युवाको असन्तुष्टिलाई राजनीतिक स्वीकारोक्तिमा मात्र सीमित नराखी सार्थक सुधार र परिणाममार्फत सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । राजनीतिक नेतृत्वप्रति विश्वास स्वतः प्राप्त नहुने भन्दै उनले इमानदारी, पारदर्शिता र परिणाममुखी कार्यबाट मात्रै जनविश्वास आर्जन गर्न सकिने बताए। “राजनीतिक नेतृत्वको वास्तविक मूल्य हामीले कति शक्ति प्राप्त गर्यौँ भन्नेमा होइन, कति विश्वास आर्जन गर्यौँ र कस्तो भविष्य निर्माण गर्न सक्यौँ भन्नेमा मापन हुन्छ।
जलवायु परिवर्तनको जोखिम र क्षेत्रीय सहकार्य
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमबारे चर्चा गर्दै चौधरीले हालै नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताए। जलवायु परिवर्तनको असर कुनै एक देशमा सीमित नरहने भएकाले यसको जोखिम न्यूनीकरणका लागि विश्वका सबै मुलुकले साझा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा उनले जोड दिए। नेपाली कांग्रेसको लोकतान्त्रिक विरासत र नेपालको राजनीतिक तथा आर्थिक विकासमा पार्टीको योगदानको स्मरण गर्दै उनले विगतका कमजोरी र गुमेका अवसरलाई स्वीकार गरी वर्तमान नेतृत्व त्यसलाई सच्याएर अघि बढ्न प्रतिबद्ध रहेको बताए। साथै खुला बजार अर्थतन्त्र, आर्थिक उदारीकरण र विश्वव्यापीकरणलाई आत्मसात् गर्दै लोकतन्त्र र उदार आर्थिक नीति नै विकासका आधारभूत स्तम्भ हुनुपर्ने धारणा उनले व्यक्त गरे।

















