मर्क्योर होटलले एकै वर्ष गर्‍यो २७ करोडको व्यापार

काठमाडौं । काठमाडौंको सुकेधारामा सञ्चालनमा रहेको मर्क्योर होटलले एकै वर्ष करिब २७ करोड रुपैयाँको व्यापार गरेको छ । होटलले गत आर्थिक वर्षमा २६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । यो होटलले सन् २०२५ मा ९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले गत आवमा नाफा कमाउन भने सकेन । कम्पनीले गत आवमा १ करोड ८० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीले ४९ प्रतिशत कोठाको सेवाबाट र ३७ प्रतिशत खाना तथा पेय पदार्थबाट भएको उल्लेख छ । गत आवमा कम्पनीको सञ्चालन मार्जिन ६.६६ प्रतिशत छ । कम्पनीको पुँजीगत संरचना उच्च ऋणभारमा रहेको छ । कम्पनीले समग्र गियरिङ अनुपात ३.१८ गुणा रहेको छ । सन् २०२५ मा कम्पनीको समग्र गियरिङ अनुपात ३.२२ गुणा थियो । सन् २०२५ मा ३.५ गुणा रहेको कम्पनीको कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थ अनुपात सन् २०२६ मा बढेर ३.८९ गुणा रहेको छ । कम्पनीको समग्र अकुपेन्सी बढेर ४१ प्रतिशत पुगेको छ । कम्पनीको कोठाको व्यापार बढेर १३ करोड १० लाख रुपैयाँ पुगेको छ । सन् २०२५ को ६ महिनाको अवधिमा ३ करोड ३० लाख रुपैयाँ थियो । तर, कम्पनीको समग्र कोठाको मूल्य घटेर ८ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

सन् २०२५ मा समग्र कोठाको मूल्य ९ हजार १ सय ४१ रुपैयाँ थियो । सन् २०१६ मा द मेट्रोपोलिटन होटलको नाममा दर्ता भएको कम्पनी सन् २०२४ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो । कम्पनीले हाल पाँच तारे होटल सञ्चालन गर्दै आएको छ । होटलमा १ सय ५ वटा कोठा छन् । कम्पनीले सन् २०२० देखि आंशिक रुपमा होटल सञ्चालन गरेको थियो भने सन् २०२५ को जनवरीबाट भने पूर्ण क्षमतामा सञ्चालन गरेको थियो । कम्पनीले उक्त होटल निर्माण गर्न ३ अर्ब २१ करोड ७० लाख रुपैयाँ खर्च भएको जनाएको छ । कम्पनीले होटल व्यवस्थापनका लागि एएपीसी इन्डिया होटल म्यानेजेन्ट प्रालि (अक्कोर होटल्स)सँग सम्झौता गरेको छ । कम्पनीमा एबी होल्डिङको सेयर रहेको छ । जसमा देशबन्धु बस्नेतको ५० प्रतिशत स्वामित्व छ । बस्नेत अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब २५ करोड ५३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब २४ करोड ५३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ करोड रुपैयाँको रेटिङ गराएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *