अब संसदीय गतिविधि अनलाइनबाटै
काठमाडौं । संघीय संसद्का गतिविधि डिजिटल प्रणालीबाट अभिलेखित र अनुगमन गरिने भएको छ । यस निम्ति डिजिटल पार्लियामेन्टको अवधारणा तयार भएको छ । जसमा सांसदले संसद्मा उठाएका प्रश्नदेखि तिनको जवाफ, विधेयकको प्रगति, संसदीय समितिका निर्देशन र सरकारी निकायले गरेका काम डिजिटल प्लेटफर्मबाट हेर्न सक्ने व्यवस्था प्रस्तावित छ । संघीय संसद् सचिवालयको प्रविधि व्यवस्थापन महाशाखा प्रमुख विशाल सापकोटा नेतृत्वको सहजीकरण समितिले संसद्को विधायिकी कार्य, निगरानी र संस्थागत अभिलेख व्यवस्थापन सुधार गर्ने गरी अवधारणा तयार पारेको हो । ‘तयार अवधारणा सचिवालयलाई बुझाइएको छ,’ सापकोटाले भने, ‘डिजिटल पार्लियामेन्टको अवधारणाको प्रमुख उद्देश्य संघीय संसद्को संसदीय गतिविधिलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने हो ।’ तयार अवधारणा समितिले कात्तिक तेस्रो साता नै संघीय संसद् सचिवालयलाई बुझाएको हो । तयार अवधारणा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई पनि दिइएको छ ।अवधारणापत्रमा डिजिटल प्रणाली सञ्चालनका लागि साइबर सुरक्षा, तथ्यांकको संरक्षण, पहुँच नियन्त्रण, प्राविधिक जनशक्ति विकास र आवश्यक कानुनी तथा संस्थागत व्यवस्था मिलाउनुपर्ने विषय समेटिएका छन् । ‘हामीले फुल्ली डिजिटल पार्लियामेन्टमा जाँदा के कस्ता कामकारबाही गर्नुपर्छ ? रणनीतिक योजना के कस्ता हुन्छन् ? मध्यकालीन र दीर्घकालका योजना के कस्ता हुन्छन् ? मार्गचित्र नै तयार गरेका छौं,’ सापकोटाले भने । उनका अनुसार तयार अवधारणाअनुसार अगाडि बढ्दा नयाँ कानुन आवश्यक पर्छ । ‘प्रणाली र प्रक्रिया नै फरक तरिकाले गर्दै जाँदा त्यसलाई कानुनले सम्बोधन गर्नुपर्छ । आवश्यक ऐन बन्नुपर्छ । यो पहिचान गरेर दिइएको छ,’ सापकोटा थप्छन्, ‘डिजिटल पार्लियामेन्टको फुल्ली कार्यान्वयनपछिको संयन्त्र कस्तो रहने ? साधनस्रोत कहाँबाट जुटाउने ? लगायतका विषय पनि समेटिएको छ ।
संघीय संसद् सचिवालयले तयार पारेको अवधारणापत्रमा सांसदहरूका लागि छुट्टै मोबाइल एप विकास गर्ने प्रस्ताव छ । एपमार्फत सांसदले आफ्नो व्यक्तिगत विवरण, बैठक तथा समितिका सूचना, कार्यसूची र आवश्यक कागजात हेर्न सक्ने छन् । सांसदको हाजिरीसमेत विद्युतीय प्रणालीबाट अभिलेख गरिने छ । आवश्यकता र प्राविधिक सम्भाव्यताका आधारमा डिजिटल निवेदन तथा बिदा अनुरोध गर्ने सुविधा पनि एपमा राख्ने भनिएको छ । साथै, सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा संसदीय समितिका सभापतिहरूका लागि पनि जिम्मेवारीअनुसारका डिजिटल सुविधा उपलब्ध गराउने योजना पनि अवधारणामा समेटिएको छ । सापकोटाका अनुसार सांसदहरूले कुनै पनि विषयमा संसद्मा कुन समयमा बोल्न खोजेको हो उक्त एपमार्फत प्रक्रिया अगाडि बढाउन सक्ने छन् । ‘प्रश्नोत्तरदेखि आफूले कुन समयमा के बोल्ने भनेर मोबाइलबाटै एपमार्फत प्रक्रिया अगाडि बढाउँछन्,’ उनी भन्छन्, ‘सम्बन्धित सभाको सचिवले एपमार्फत नै सांसदहरूको आग्रह सम्बोधन गर्छन् ।’ मोबाइल एपबाट सांसदहरूले संसद्को कार्यसूची, विधेयक, बैठकका कागजात र संसदीय गतिविधिसम्बन्धी विवरण प्राप्त गर्न सक्ने छन् । प्रश्नोत्तर, ध्यानाकर्षण, प्रस्ताव तथा अन्य संसदीय प्रक्रियामा सहभागी हुने र आफूले उठाएका विषयको अवस्था थाहा पाउने सुविधा पनि राखिने छ । यसबाट सांसदहरूले कुन विषयमा कहिले बोल्ने, कुन प्रस्ताव वा प्रश्न कुन प्रक्रियामा छ र त्यसको सम्बोधनको अवस्था के छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्ने छन् । यसैगरी, विधेयकको दर्तादेखि पारित हुँदासम्मको प्रक्रियालाई डिजिटल अभिलेखमा राख्ने र डिजिटल रूपमै निगरानी गर्ने प्रस्ताव छ । विधेयकको छुट्टै पहिचान संकेत, कुन चरणमा पुगेको छ, संशोधन के परे, कुन समितिमा पठाइयो, छलफल र निर्णयको अवस्था के छ भन्ने विवरण प्रणालीमा उपलब्ध हुनेछ । विशेषगरी विधेयक निर्माण प्रक्रियामा हुने ढिलासुस्ती र पारदर्शिताको कमीलाई सम्बोधन गर्ने उद्देश्यले यो अवधारणा अगाडि बढाइएको हो । यसले सांसद मात्रै नभई नागरिकलाई समेत कानुन निर्माणको प्रक्रियाबारे जानकारी लिन सहज बनाउने सापकोटाले जानकारी दिए । ‘संसद्को मुख्य कुरा नै कानुन निर्माण हो । कानुन निर्माण प्रक्रियामा ढिलासुस्ती, पारदर्शिताका कुराहरू नागरिकले समेत देख्न मिल्ने गरी राखिने छ । अहिलेको अवस्था के छ भने थाहा पाउँछन्,’ सापकोटा भन्छन्, ‘नागरिकको हात–हातमा संसद्को दस्तावेज मोबाइल एपमार्फत उपलब्ध हुनेछ ।’ साथै, सांसदले उठाएका प्रश्नको जवाफ डिजिटल रूपमै ट्र्याक गरिने छ । यस निम्ति सांसदले उठाएका प्रश्न अभिलेखमा राखेर तिनको जवाफ र प्रगति एकैसाथ देखाइने छ । सांसदले सदनमा उठाएका प्रश्न, ध्यानाकर्षण, शून्य समय र विशेष समयमा राखेका विषयको अभिलेख राख्ने, ती विषय कुन निकायमा पठाइयो र सम्बन्धित निकायबाट के जवाफ प्राप्त भयो भन्ने विवरण व्यवस्थापन गर्ने व्यवस्था प्रस्ताव गरिएको हो । यो अवधारणा लागु भयो भने संसद्मा के कस्ता विषय उठ्छन् र तिनीहरू सम्बोधन भए वा भएनन् भनेर नागरिकले समेत थाहा पाउने छन् । अवधारणामा उल्लेख भएअनुसार सांसदले उठाएका विषयलाई डिजिटल प्रणालीमा अभिलेख गरी सम्बन्धित निकायमा पठाइएको विवरण राखिने छ । जवाफ प्राप्त भएपछि त्यसलाई सोही अभिलेखमा जोडिने छ । यसबाट कुनै सांसदले उठाएका प्रश्न कुन निकायमा पुगेको छ, जवाफ प्राप्त भयो कि भएन भन्ने थाहा लाग्नेछ । आवश्यकताअनुसार विषयगत खोजी र प्रगति अनुगमनको सुविधा पनि विकास गरिने अवधारणापत्रमा उल्लेख छ । संसदीय विषयगत समितिले सरकार वा सम्बन्धित निकायलाई दिएका निर्देशन र सिफारिसको कार्यान्वयन अवस्था डिजिटल अभिलेखमा राखेर अनुगमन गर्ने प्रस्ताव छ । समितिका बैठक, छलफलका विषय, प्राप्त कागजात, निर्णय, निर्देशन र सिफारिसलाई प्रणालीमा व्यवस्थित गरिने छ । सांसदले उठाएका विषय र समितिका निर्देशनको अवस्था एउटै प्रणालीबाट हेर्न सकिने भएपछि सरकार तथा सम्बन्धित निकायको जवाफदेहितासमेत बढाउन सकिने अवधारणापत्रको उद्देश्य छ । यसरी डिजिटल पार्लियामेन्ट परियोजना पूर्ण रूपमा कार्यान्वयनमा आउँदा डिजिटल प्लेटफर्ममा तीन तहको कानुन निर्माणमा संलग्न जनप्रतिनिधिहरूको अभिलेख व्यवस्थापन हुनेछ । व्यक्तिगत प्रोफाइल, राजनीतिक दल, निर्वाचन क्षेत्र, प्रदेश तथा सदनअनुसार सदस्यको विवरण डिजिटल प्लेटफर्ममा उपलब्ध हुने छन् । सभा तथा समितिमा स्वचालित विद्युतीय हाजिरी प्रणाली लागु भएसँगै उपस्थित, अनुपस्थित, बिदा तथा ढिला उपस्थितिको अभिलेख सार्वजनिक रूपमा उपलब्ध हुनेछ ।
डिजिटल पार्लियामेन्ट परियोजनालाई चरणबद्ध रूपमा अघि बढाउने अवधारणा डिजिटल प्लेटफर्ममा छ । प्रारम्भिक चरणमा संघीय संसद् र संघीय संसद् सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने भनिएको छ । त्यसपछि प्राप्त अनुभव र प्रणालीगत क्षमताका आधारमा सातवटै प्रदेशसभा तथा स्थानीय तहका गाउँसभा र नगरसभासम्म विस्तार गर्न आवश्यक मार्गदर्शन र मापदण्ड तयार गर्ने लक्ष्य राखिएको छ । सुरुवात भने संघीय संसद् र संघीय संसद् सचिवालयबाट गर्ने भनिएको हो । परियोजना विस्तारका क्रममा सातवटै प्रदेशसभा र तिनका सचिवालयका साथै गाउँसभा तथा नगरसभालाई डिजिटल प्रणालीमा अन्तरआबद्ध गर्न आवश्यक मार्गदर्शन र मापदण्ड तयार गरिने छ । प्रदेश र स्थानीय तहका सभाको कार्यप्रणाली, संस्थागत संरचना र प्रशासनिक व्यवस्थापनमा एकरूपता नहुने भएकाले सबैका लागि एउटै प्रणाली अनिवार्य गर्नेभन्दा सम्बन्धित तहको आवश्यकता र अवस्थाअनुसार प्रणाली विकास तथा कार्यान्वयनमा सहजीकरण गर्ने प्रस्ताव छ । यसका लागि प्रदेश तथा स्थानीय तहमा प्रशासन र अभिलेख व्यवस्थापनको जिम्मेवारीमा रहेका निकाय तथा कर्मचारीको क्षमता विकास गर्ने भनिएको छ । डिजिटल प्रणाली निर्माण, सञ्चालन र व्यवस्थापन गर्न आवश्यक प्राविधिक ज्ञान तथा सिप उपलब्ध गराउने, अनुभव आदानप्रदान गर्ने र आवश्यकताअनुसार सहयोग गर्ने अवधारणापत्रमा उल्लेख छ । तयार अवधारणाले देशभित्रका अन्य व्यवस्थापिकासँगै अन्तरदेशीय व्यवस्थापिकाका अनुभव र अभ्यास आदानप्रदानलाई समेत समेटेको छ । नयाँ प्रविधि अवलम्बन, ज्ञान हस्तान्तरण र आन्तरिक स्रोतको न्यूनता पूर्ति गर्न विकास साझेदारसँगको सहयोग तथा साझेदारी उपयोग गर्ने भनिएको छ । तर यसको खाकाबारे प्रष्ट केही भनिएको छैन ।

















