सिट निर्धारणमा पारदर्शिता र शुल्क समायोजन नभएसम्म भर्ना नलिने निजी मेडिकल कलेजको घोषणा
काठमाण्डौं । एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले सिट निर्धारण प्रक्रियामा पारदर्शिता कायम गर्न र चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण शुल्क पुनरावलोकन तथा समायोजन गर्न माग गरेको छ । आफ्ना माग सम्बोधन नभएसम्म स्नातक (यूजी) तथा स्नातककोत्तर (पीजी) तहका विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउन असमर्थ रहेको एसोसिएसनले जनाएको छ । आइतबार जारी प्रेस विज्ञप्तिमार्फत एसोसिएसनले चिकित्सा शिक्षा आयोग (एमईसी) लाई समेत भर्ना प्रक्रिया अगाडि नबढाउन अनुरोध गरेको छ । एसोसिएसनले शैक्षिक सत्र २०८३।०८४ का लागि आयोगले निर्धारण गरेको सिटको आधार र मूल्याङ्कन प्रक्रियामा पारदर्शिता आवश्यक रहेको जनाएको छ । आयोगले गत ३० असोजमा जारी गरेको सिट निर्धारणसम्बन्धी सूचनामा प्रयोग गरिएको मापदण्ड, मूल्याङ्कनका सूचक, प्रत्येक सूचकको भार, गणना विधि तथा शिक्षण संस्थाले प्राप्त गरेको अंक सार्वजनिक गर्न माग गरिएको छ । एसोसिएसनले प्रत्येक मेडिकल तथा डेन्टल कलेजको व्यक्तिगत कलेज स्कोर कार्ड २४ घण्टाभित्र आयोगको आधिकारिक वेबसाइटमा सार्वजनिक गर्न आग्रह गरेको छ ।
सिट वृद्धि, यथावत कायम वा कटौती गर्नुको आधार र कारणसमेत स्पष्ट पार्नुपर्ने उसको माग छ । त्यस्तै, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम २३ अनुसार शिक्षण शुल्क पुनरावलोकन गर्नुपर्ने एसोसिएसनको भनाइ छ । शैक्षिक वर्ष २०७८।०७९ देखि हालसम्म शुल्क पुनरावलोकन तथा समायोजन हुन नसकेको भन्दै उसले असन्तुष्टि जनाएको छ । एसोसिएसनका अनुसार चिकित्सा शिक्षा आयोगको १८औँ पूर्ण बैठकबाट गठित शुल्क तथा सिट पुनरावलोकन कार्यदलले स्नातक र स्नातककोत्तर तहका विभिन्न कार्यक्रमको शुल्क पुनरावलोकन गर्न सिफारिस गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
स्वास्थ्य मन्त्रालय र आयोगसँग सन् २०२५ मा भएको समझदारीअनुसार सन् २०२६ देखि ऐनअनुरूप शुल्क निर्धारण तथा समायोजन गर्ने सहमतिसमेत कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ । विगत पाँच आर्थिक वर्षमा मुद्रास्फीति दरका आधारमा कुल मूल्यवृद्धि करिब २६।६४ प्रतिशत पुगेको उल्लेख गर्दै एसोसिएसनले शिक्षक तथा कर्मचारीको पारिश्रमिक, विद्युत्, इन्धन, परीक्षा सञ्चालन, विश्वविद्यालय शुल्क, प्रयोगशाला, उपकरण र अस्पताल सञ्चालन खर्च बढेको जनाएको छ । निजी मेडिकल तथा डेन्टल कलेजहरूले छात्रवृत्ति, निःशुल्क शय्या, स्वास्थ्य शिविरलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको भन्दै वर्तमान शिक्षण शुल्क र वास्तविक सञ्चालन खर्चबीच ठूलो अन्तर सिर्जना भएको एसोसिएसनको दाबी छ । उसले शुल्क पुनरावलोकन नभएसम्म स्नातककोत्तर तहको Self-Appraisal प्रक्रिया पूरा गर्न तथा स्नातक तहमा विद्यार्थी भर्ना गरी कार्यक्रम सञ्चालन गर्न आर्थिक र व्यावहारिक कठिनाइ रहेको जनाएको छ । एसोसिएसनले आफ्ना माग सम्बोधनका लागि तीनबुँदे मागसमेत अघि सारेको छ । जसमा सिट निर्धारणका सम्पूर्ण आधार र कलेजगत मूल्याङ्कन विवरण सार्वजनिक गर्नुपर्ने, स्नातक तथा स्नातककोत्तर तहको शिक्षण शुल्क वास्तविक लागत र मुद्रास्फीतिका आधारमा पुनरावलोकन गर्नुपर्ने तथा चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्वविद्यालय तथा निजी मेडिकल र डेन्टल कलेजका प्रतिनिधिबीच तत्काल संयुक्त बैठक आयोजना गर्नुपर्ने माग रहेका छन् ।

















