दशौँ राष्ट्रिय खेलकुदमा वाग्मती शीर्ष स्थानमा
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा वाग्मती प्रदेश शीर्ष स्थानमा रहेको छ । सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ । हालसम्म सम्पन्न विभिन्न खेलका आधारमा वाग्मतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ । प्रतियोगितामा कर्णालीले भने कुनै पनि विधामा पदक जित्न सकेको छैन सहआयोजक प्रदेश नै पदकविहीन हुनुपर्ने अवस्थाबारे कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्ति अभाव, भौगोलिक विकटता र तयारीले पूर्णता पाउन नसक्दा अपेक्षित नतिजा हासिल हुन नसकेको बताए । पदक तालिकामा गैरआवासीय नेपाली संघ (एनआरएन) दोस्रो स्थानमा छ । एनआरएनले १२ स्वर्ण, चार रजत र चार कास्य गरी २० पदक जितेको छ ।
त्यस्तै, त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कास्य गरी ५० पदक प्राप्त गरेको छ भने नेपाल पुलिस क्लबले आठ स्वर्ण, १५ रजत र १८ कास्य गरी ४१ पदक जितेको छ । यसैगरी, गण्डकीले चार स्वर्ण, एक रजत र चार कास्य गरी नौ, कोसीले चार स्वर्ण, एक रजत र एक कास्य गरी छ, सशस्त्र प्रहरी बल ९एपीएफ० ले तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच, लुम्बिनीले दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११ तथा सुदूरपश्चिमले दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक जितेका छन् । मधेस प्रदेशले भने दुई कास्य पदकमात्र प्राप्त गरेको छ । कर्णालीको पदक सङ्ख्या शून्य छ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत मंसिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायत खेल रूपमा सञ्चालन भइरहेका छन् । तीमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन् । रासस

















