रविन्द्र मिश्र र धवल शमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने
काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ ।
काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार, मिश्र र राणा अदालतमा पटक–पटक बोलाउँदा पनि उपस्थित नभएपछि अब कानुनी प्रक्रियाअनुसार पक्राउ पुर्जी जारी गर्ने तयारी गरिएको हो । उनीहरू यसअघि हाजिरी जमानीमा छुटेका थिए तर त्यसपछि सम्पर्कविहीन बनेका छन् । उपस्थित नगरिएपछि अदालतले जिम्मेवारी लिएका तीन जना कानुन व्यवसायी र स्वकीय सचिवलाई जनही २५ हजार रुपैयाँ जरिवाना तिराएको थियो । हालै अदालतले दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक आदेश जारी गरे पनि मिश्र र राणाको नाम त्यसमा समावेश थिएन ।
तर अदालतले फरार रहेका प्रतिवादीहरूको हकमा पक्राउ पुर्जी जारी गर्न आदेश दिइसकेको छ ।