विदेशी कम्पनीहरूले रुस छाडेकोमा पुटिन खुशी

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार विदेशी कम्पनीहरूले मुलुक छाडेर गएका देखेर आफूलाई निकै खुशी लागेको बताएका छन् । अब स्वदेशमा हुर्केका व्यापार व्यवसायहरूले तिनीहरूको स्थान लिने उनको भनाइ छ । साथै उनले मस्कोले अझै पनि अत्याधुनिक प्रविधि र विलासिताका वस्तुहरू हासिल गर्ने उपायहरू पत्ता लगाउने चेतावनी पश्चिम जगतलाई दिएका छन् ।

पुटिनले युक्रेनमाथिको आक्रमणलाई रुसी इतिहासको परिवर्तित बिन्दुको रूपमा प्रस्तुत गरेका छन् । उनले यसलाई सन् १९९१ मा सोभियत संघ पतन भएयता रुसलाई होच्याउँदै आएको अमेरिकाविरुद्ध मस्कोको क्रान्तिको संज्ञा दिएका छन् । युक्रेनले भने आफ्नो निरन्तर अस्तित्वका लागि लडिरहेको बताउने गरेको छ ।

युुद्धले मृत्यु र सन्त्रास फैलाएको छ । पश्चिमाले रुसलाई एक्लाउन उसमाथि प्रतिबन्ध लगाएका छन् । यसले विश्वव्यापी आर्थिक वृद्धि प्रभावित हुनुका साथै मुद्रा अवमूल्यन र खाद्यान्न, खाने तेल, मल र उर्जाको मूल्य चर्किने जस्ता समस्या देखा परेका छन् । रुसले २४ फेब्रुअरीमा युक्रेनमाथि हमला गरेयता बीपीदेखि म्याकडोनल्ड कम्पनी लगायत थुप्रै विदेशी लगानीकर्ताहरूले रुसी भूमि छाडिसकेका छन् । सोभियत संघ पतन भएपछि आएको आर्थिक विचलन यता रुसको अर्थतन्त्र अहिले सबैभन्दा बढी खुम्चिएको अवस्थामा छ ।

तर पुटिनले भनेका छन्, ‘ती विदेशी कम्पनीहरूले हाम्रो मुलुक छाडेकोमा भगवानलाई धन्यवाद दिनु पर्दछ । किनभने अब हामीले तिनीहरूको स्थान कब्जा गर्नेछौँ । हाम्रो आफ्नै व्यापार व्यवसाय र हाम्रो उत्पादन पहिल्यै हुर्किसकेका छन् । अब हाम्रा साझेदारहरूले तयार गरेका स्थानमा यिनीहरू सुरक्षित ढंगले बस्ने छन् ।’

पूर्व सोभियत गणराज्यहरूका नेताहरूसँग भिडियो लिन्कमार्फत बोल्दै पुटिनले ठट्टा गरे, ‘उत्तरार्ध(सोभियत रुसको अराजकतामा ठगहरूले मनपराएका विलासिताका वस्तुहरू जस्तै मर्सिडिज कार अझै पनि उपलब्ध हुनेछन् । बरु तिनीहरू अलि महँगो हुनेछन् । पहिल्यै मर्सिडिज ६०० एस चलाइसकेकाहरूले अझै पनि चलाउन सक्छन् । म विश्वास दिलाउँछु, तिनीहरूले जहाँबाट भए पनि ती विलासिताका वस्तुहरू ल्याउने छन् । रुसलाई अझै पनि विकसित अथतन्त्रहरूका अत्याधुनिक प्रविधिहरूको पहुँचको आवश्यकता छ ।’

तर पुटिनले रुसले कसरी पश्चिमी अवयवहरू र सफ्टवेयरको पहुँच कायम राख्ने उपायहरू पत्ता लगाउँछ भन्नेबारे केही स्पष्ट पारेका छैनन् । बरु उनले पश्चिमी जगतको रुसलाई एक्लो बनाउने प्रयास असफल हुने प्रतिबद्धता जनाएका छन् । यसैबीच रुसको केन्द्रीय बैंकले बिहीवार आफ्नो मुख्य ब्याजदर घटाएर ११ प्रतिशत पुर्याएको छ । बैंकले मुलुकको मुद्रा अवमुल्यन दरलाई घटाउने उद्देश्यले यसै वर्ष ब्याजदर अझै घटाउँदै लाने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *