मञ्जुश्री फाइनान्सद्वारा बुटवलमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाण्डौं । मञ्जुश्री फाइनान्स लिमिटेड, बुटवल शाखाको साझेदारीमा नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ स्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यक्रमलाई स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिताले उत्साहपूर्ण बनाएको छ। शिविरमा ८० जनाले रक्तदान गरे भने २९२ जनाले विभिन्न विशेषज्ञ चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए।

मधुमेह परीक्षण लगायतका सेवाहरू समेत उपलब्ध गराइएको शिविरमा विशेषज्ञ चिकित्सकका रूपमा डा. सुमन पौडेल, डा. राजीव शाह (स्त्रीरोग), डा. पटल गिरी (आन्तरिक रोग), र डा. सम्राट पराजुली (अस्थिरोग)ले सेवा दिएका थिए। कार्यक्रमको अध्यक्षता दया बहादुर शिलबालले गरेका थिए भने मञ्जुश्री फाइनान्स बुटवल शाखाका प्रबन्धक सुबास अर्याल विशिष्ट अतिथिको रूपमा सहभागी थिए। नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन महासचिव दीपक अधिकारीले गरेका थिए।

शाखा प्रबन्धक अर्यालले मञ्जुश्री फाइनान्सले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए। डा. सुमन पौडेलले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि र नियमित परीक्षणको महत्त्वमा जोड दिँदै यस्ता शिविरहरू ग्रामीण तथा अर्धशहरी क्षेत्रमा अत्यन्त उपयोगी हुने बताए। कार्यक्रमको समापनमा आयोजक नेपाल नियमित रक्तदाता संघले स्थानीय बासिन्दा, चिकित्सक र स्वयंसेवकहरूको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने उल्लेख गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *