पाँच संसदीय समितिको बैठक आज

काठमाडौं । संघीय संसद्अन्तर्गतका पाँच विषयगत समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाअन्तर्गतका तीन समितिको बैठक बस्न लागेको छ । यस दिन राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा विश्वव्यापी आवधिक समीक्षाका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिनेछ । त्यसअघि, बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ ।

बैठकमा मधेसी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बिहान ११ बजे नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल गरिनेछ । राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गरिनेछ । राष्ट्रियसभाअन्तर्गतकै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ । यी बैठक सिंहदरबारस्थित सम्बन्धित समितिका सभाकक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *