पत्नीसँग डिभोर्स भएको खुसियालीमा दूधले स्नान
भारतको असममा एकजना पुरुषले यस्तै गरेका छन्। असमको नलबाडी जिल्लाका माणिक अली नामका पुरुषले पत्नीसँग डिभोर्स भएको खुसीमा दूधले नुहाएका छन् । अदालतबाट कानुनी रूपमै पत्नीसँग छुटिटएको खुसी मनाउन ती व्यक्तिले जिउमा दूध खन्याएर नुहाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त भिडियोमा उनले भनेका छन्( आजदेखि म स्वतन्त्र भएको छु । ऊ (श्रीमती) आफ्नो प्रेमीसँग पटक–पटक भागी । तर आफ्नो परिवारको शान्तिका लागि म चुपचाप बसेँ । मेरा वकिलले मलाई जानकारी दिएका कि मेरो डिभोर्स भइसकेको छ । त्यसैले म अहिले यो खुसी मनाउन दूधले नुहाउँदै छु। स्थानीय बासिन्दाहरूका अनुसार अलीकी श्रीमती यसअघि कम्तीमा दुई पटक परपुरुषसँग घरबाट भागेकी थिइन् । त्यसपछि दुवैले आपसी सहमतिमै वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका थिए । माणिक अलीको यो भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । धेरैजसोले यसलाई लाजमर्दो व्यवहार भनेका छन् भने कतिपयले हँसिमजाकको रूपमा लिएका छन् । केहीले चाहिँ यसरी दूध खेर फाल्नु मूर्खतापूर्ण काम भएको टिप्पणी गरेका छन् ।