हाम्रा पुर्खाले खान्थे मान्छेकै मासु !
वैज्ञानिकहरुका अनुसार ८ लाख ५० हजार वर्ष पहिले प्राचीन मानव प्रजातिले आफ्नै बच्चालाई खाने गर्दथे । शोधका क्रममा फेला परेका केही प्रमाणहरुले यस्तो देखाएका छन् । डेलीमेलमा प्रकाशित रिपोर्ट अनुसार उत्तरी स्पेनको अटापुर्कास्थित ग्रेन डोलिना गुफास्थलमा काम गरिरहेका पुरातत्वविदहरुले मानिसको गर्धनको एउटा हड्डी फेला पारेका छन् । उक्त हड्डी बच्चाको हो । सो बच्चाको मृत्यु दुई देखि चार वर्षको उमेरभित्र भएको थियो । शोधकर्ताहरुका अनुसार उक्त हड्डीको अनुसन्धानबाट बच्चाको हत्या भएको संकेत मिल्दछ । वास्तवमा बच्चाको टाउको काटिएको थियो र यसपछि उसलाई खाइएको थियो । उक्त गर्धनको हड्डीमा दाँतले टोकेका खतहरु प्नि पाइएका छन् । उक्त हड्डी हाम्रो मानव पुर्खा होमो एन्टिसेसरको भएको वैज्ञानिकहरुको भनाई छ । सो मानव प्रजाति इतिहासको निएन्डरथल तथा हालको होमो सेपियन्स दुबैको अन्तिम साझा पूर्वज मानिन्छ । यो मानव प्रजाति १२ लाख वर्षदेखि ८ लाख वर्षसम्म अस्तित्वमा रहेका थियो । आधुनिक मानवको तुलनामा यी मान्छेहरु छोटो तथा मोटो आकारका हुन्थे । उनीहरुको मस्तिष्कको आकार करीब १ हजार देखि ११५० घन सेन्टिमिटर थियो । वर्तमान मानव मस्तिष्कको आकार चाहीँ औषतमा १३५० घन सेन्टिमिटर हुन्छ । स्पेनको क्याटलन इन्स्टिच्यूट अफ ह्युमन प्यालियोइकोलोजी एण्ड सोसल इभोलुसनको एक टिमले उक्त खोज गरेको हो । ती शोधकर्ताहरुले उक्त स्थलमा तीन दशक अघिदेखि उत्खनन तथा अनुसन्धान गरिरहेका छन् । गुफामा अहिलेसम्म प्राप्त भएका मध्ये करीब एक तिहाई हड्डीहरुमा काटिएका खत छन् । जसबाट पत्ता लाग्दछ कि मानिसका पूर्वज नरभक्षी थिए । उक्त खोजकार्यकी सह निर्देशक डाक्टर पामिरा सलादीका अनुसार यो घटना तथा खोज निकै आश्चर्यजनक छ, केवल बच्चाको उमेरका कारण मात्र होइन कि काटिएका खतको सटीकताका कारणले पनि । खोजमा प्राप्त मानव अंगका अवशेषमा टाउकोलाई सरीरबाट छुट्टाउनका लागि महत्वपूर्ण शारीरिक विन्दुहरुमा स्पष्ट चिरा देखिएको छ । यसले के देखाउँछ भने त्यसबेला मानिसहरुले सिकारका लागि मारिने अन्य जनावरलाई जस्तै गरी बच्चालाई पनि मार्दथे । विज्ञहरुका अनुसार कुनै बच्चालाई मानिसले नै खाएको प्रमाण प्राप्त हुनु निकै असामान्य कुरा हो । यदि खोजबाट प्राप्त सबूतहरु प्रमाणित भएमा यो मानव इतिहासमा नरभक्षी प्रथाको यो अहिलेसम्मकै पहिलो प्रमाण हुनेछ । पुरातत्वविदहरुका अनुसार यो मानव प्रजातिले दायाँ हातले काम गर्दथ्यो । जसले गर्दा यसलाई अन्य बाँदर प्रजाति भन्दा फरक हुन्थ्यो । सम्भवतः यी मानवहरुले प्रतिकात्मक भाषा प्रयोग गर्दथे । शोधकर्ताहरुका अनुसार फेला परेको गर्धनको हड्डीमा रहेका खतहरुबाट उक्त बच्चाको टाउको धारिलो हतियारले काटिएको देखिन्छ । उक्त ठाउँमा प्राप्त अन्य वयस्क मानिसहरुका हड्डीमा समेत मासु काटिएका संकेत तथा जानुबुझी हड्डी फोडिएका प्रमाण भेटिएका छन् । ती खतहरु मनिसले खाने अन्य जनावरका हड्डीहरुमा पाइने निसानजस्तै छन् । ती हड्डीको अवशेषको सतहका संकेतहरु ऋसाधारण तरिकाले संरक्षित रहेको डाक्टर सलादी बताउँछिन् । हड्डीमा काटिएका खतहरु फरक(फरक छैनन् । हड्डीहरुमा प्राप्त काटिएका खतहरु इो कुराको सबैभन्दा विश्वसनीय प्रमाण हुन् कि उक्त घटनास्थलमा मानिसहरुलाई काटेर खाइएको थियो । यसबाट उक्त मानव पूर्खाले आफ्नै बच्चा तथा अन्य मानिसहरुलाई काटेर खाने गरेको पुष्टि हुन्छ । यसअघि केन्यामा करीब १४ लाख ५० हजार वर्ष अगाडिको मानव पुर्खामा नरभक्षणको चलन रहेको तथ्य फेला परेको थियो । पछिल्लो प्रमाणले यस्तो चलन साढे ८ लाख वर्षअघिसम्मै रहेको देखाएको छ । कतिपय पुरात्वविदहरुका अनुसार मानव पुर्खाहरुले मृतकको अन्त्यष्टि गर्नुअघि अन्त्येष्टि अनुष्ठानकै रुपमा शवबाट मासु निकालेर खाने गर्दथे । बेलायतको समरसेटको चेडर गर्जमा पाइएका मानव खप्परहरुको परीक्षणका क्रममा प्राचीन बेलायती मानिसहरु समेत नरभक्षी पनि रहेको र आफ्नो सिकारको टाउकोबाट बनाइएको कचौरामा पानी खान मन पराउने गरेको तथ्य पत्ता लागेको छ । ती कचौराहरु १४ हजार ७ सय वर्ष पूराना रहेको र त्यसलाई सम्भवतः पानी वा रगत पिउनका लागि प्रयोग गर्ने गरिएको अनुमान वैज्ञानिकहरुको छ । वैज्ञानिकहरुका अनुसार आदिमानवहरुले सम्भवतः आफूले पराजित गरेका शत्रुहरुलाई मारेर उनीहरुको टाउकोको खप्परबाट कचौरा बनाउँथे र त्यसलाई ट्रफीको रुपमा प्रयोग गर्दथे। डेलीमेलबाट