ब्राञ्च म्यानेजरले नै गरे भल्ट रकम दुरुपयोग, चार कर्मचारी पक्राउ
काठमाण्डौं । महालक्ष्मी विकास बैंकको दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वर शाखाको भल्टमा रहेको करोडौं रुपैयाँ दुरुपयोग गरी अनलाइन जुवामा खेल्न प्रयोग गरिएको घटनामा चारजना पक्राउ परेका छन् । बैंकको मूल खातामा भल्ट रकम मौज्दात देखाएर गैरकानुनी तरिकाले हिनामिना गर्ने कार्य शाखामा कार्यरत कर्मचारीहरूको मिलेमतोमा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जाँचपडतालका क्रममा उक्त शाखाका कर्मचारीहरूले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म ‘वान एक्स बेट’ मा बैंकको पैसा लगानी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको हो।
चारै जनाको मिलेमतोमा करिब रु २ करोड ८४ लाख ७६ हजार ७ सय रकम अपचलन भएको पाइएको छ। घटना बाहिरिएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयबाट विशेष टोली गत बिहीबार दार्चुलाको गोकुलेश्वर पुगेको थियो। बैंकको आधिकारिक उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्तलाई पक्राउ गरेको हो। अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जनाए। हाल बैंकले संलग्न कर्मचारीहरूलाई निलम्बन गर्दै हेमराज जोशीलाई नयाँ शाखा प्रबन्धकको जिम्मेवारी दिएको र आइतबारदेखि शाखाको नियमित कारोबार जारी रहेको जनाएको छ।