एमसीसी अनुदानमा बन्ने प्रसारण लाइनका दुई खण्डको ठेक्का सम्झौता हुने
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा बन्ने दुई खण्डको ठेक्कामा बिहीबार सम्झौता हुने भएको छ । एमसीसीअन्तर्गत निर्माण हुने २९७ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनमध्येको दुई खण्ड निर्माणका लागि बिहीबार ठेक्का सम्झौताको तयारी रहेको एमसीए नेपालले जनाएको छ । रत्माटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एन्जेलिक–स्किपर जेभीसँग सात करोड ७४ लाख ८० हजार अमेरिकी डलरमा ठेक्का सम्झौता हुन लागेको हो ।
त्यसैगरी नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण गर्न नेपाली निर्माण कम्पनी वाइबा–सलासार जेभीसँग सात करोड ७० लाख ३० हजार अमेरिकी डलरमा सम्झौता हुन लागेको एमसीएले जनाएको छ । यी दुई खण्ड २९७ किलोमिटर लामो प्रसारण लाइनका दुई लटअन्तर्गत पर्छन् । सम्झौता हस्ताक्षर कार्यक्रम साउन बिहीबार (साउन २९ गते) हुने एमसीएले जनाएको छ । एमसीए–नेपालका अनुसार, यो सम्झौताले नेपालमा विद्युत् प्रसारण पूर्वाधार सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।