शिक्षा विधेयकविरूद्ध निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन
काठमाडौँ । विधालय शिक्षा विधेयकको प्रतिवेदनप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्। निजी विद्यालय बन्द गराउने गरी विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन खोजिएको भन्दै प्याब्सन, नेशनल प्याब्सन, हिसानलगायतले संयुक्तरुपमा काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्। विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा रहेका केही प्रावधानहरु अव्यवहारिक र अन्यायपूर्ण रहेकाले उक्त प्रावधान हटाउनुपर्ने उनीहरुको माग छ।

पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने निजी विद्यालय सञ्चालकहरुले जनाएका छन्। प्याब्सनका सल्लाहकार डीके ढुंगानाले विद्यालयले विधार्थीको अभिभावक बन्न सक्ने तर आमाबाबु नै बनेर जिम्मा लिन नसक्ने बताए। विधेयकमा रहेका कतिपय अव्यवहारिक विषयलाई हटाउनुपर्ने उनले बताए। त्यस्तै आन्दोलनका लागि उदयपुरबाट आएका प्याब्सन उदयपुरका बरिष्ठ उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले विधेयकका रहेका केही प्रावधानहरुले निजी विद्यालय बन्द हुने अवस्थामा पुग्ने भएकाले बाध्य भएर विरोध जनाउनुपरेको बताए। निजी विद्यालयहरुले भदौ ६ गते शुक्रबार विहान ११ बजे देशैभरिका स्कुल बसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने र भदौ ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने जनाएका छन्।