सामुहिक साकोसको २७ औं साधारण सभा सम्पन्न
भक्तपुर । सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनलाई पालना गर्दै सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष राजभाई भेलेको सभापतित्वमा भएको साधारण सभाको स्रोत व्यक्ति भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु रहेका थिए । सभामा अध्यक्ष भेलेले ‘आपसी सहयोग सद्भाव र सामुहकि हितका लागि सहकारी’ भन्ने मुल उदेश्य लिई २०५५ सालमा २६ हजार शेयर पुँजी र ३२ हजार ५ सय बचतबाट संस्था सुरु गरिएको बताए । उनले संस्थागत शुशासन कायम गरी सदस्यको बचतलाई सुरक्षित गर्न नीति, विधि र प्रविधिमा आधारित भएर सञ्चालन हुँदै आएको बताए । संस्था एक्सेस ब्राण्ड कार्यक्रममा सहभागी भएको र ब्राण्ड लिनको लागि प्रयास गरिराखेको सो अवसरमा उनले जानकारी दिए । संस्थामा आर्थिक बर्ष २०८१्८२ को असार मसान्तसम्म ६ हजार ७३७ सदस्य आवद्ध भएका छन् भने शेयर पुँजी ६ करोड १९ लाख पुगेको छ ।

त्यसैगरी जगेडा कोष ५ करोड ६८ लाख, अन्य कोष १ करोड ९ लाख,बचत संकलन ५६ करोड ८४ लाख, ऋण लगानी ५३ करोड ८ लाख गरी कुल करोबार ७२ करोड ९६ लाख पुगेको छ । संस्थाले नियमित,ऐच्छिक,दैनिक,मुना, सामुहिक आकस्मिक,शेयर र सदस्य विशेष, नारी, आकर्षक, जेष्ठ बचत खाता सञ्चालनमा आएको छ । त्यसैगरी सदस्य सुविधा,दैनिक सामाजिक,व्यवसायिक, हायरपर्चेच, आवास, चाडपर्व, रोजगारमुलक, आवधिक र घरजग्गा जस्ता शिर्षकमा ऋण लगानी गर्दै आएको छ । संस्थाको ऋण तिर्न पटक पटक सार्वजनिक सूचना जारी गर्दा समेत तिर्न आलटाल गर्ने ११ जना ऋण सदस्यहरुको सम्पत्ति पत्ता लगाई भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको सभामा जानकारी दिइयो । संस्थाले ४ बर्षे व्यवसायिक कार्य योेजना बनाई लक्ष्य प्राप्तिका लागि लागि परेको सभामा जानकारी दिइयो । यस आबमा निस्कृय सदस्यहरुलाई सक्रिय बनाउन लागि पर्ने, सदस्यहरुको पुँजीलाई अधिकतम परिचालन गरी प्रतिफल दिन प्रयास गर्ने, सहकारी शिक्षा सञ्चलान गर्ने,सांस्कृतिक क्रियाकलापहरुलाई निरन्तरता दिने जस्ता योजना संस्थाको छ । संस्थाका कोषाध्यक्ष जगदीश प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत बर्ष संस्थाले १ करोड २५ लाख ७७ हजार खुद बचत गरेको बताए । लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक बलराम भुजुले समितिको प्रतिवदेन सभामा प्रस्तुत गर्दै नियमनकारी निकायको निर्देशन अनुसार संचालक समिति र समितिको एकाघर परिवारका सदस्यलाई लगानी भएको ऋणलाई व्यवस्थित गर्न सुझाव दिए ।