दसैँमा यातायात व्यवसायीले आफूखुसी बढाए भाडा

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले आफूखुसी भाडा बढाएको खुलेको छ । सरकारले भाडा बढाउने कुनै निर्णय गरेको छैन । तर, यात्रुबाट १० देखि २० प्रतिशतका दरले बढी भाडा असुल गरेको पाइएको हो । बढी भाडा लिने सवारी कर्मचारी र गाडीलाई ‘होल्ड’ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्रसिंह गुरुले बताए । चाडपर्वको बेला बढी भाडा लिएको गुनासो आयो । त्यस्ता सवारीसाधनहरूलाई विभिन्न ठाउँमा रहेका ट्राफिक सहायता कक्षमा होल्ड गरिएको छ, उनले भने । ट्राफिक प्रहरीका अनुसार, एउटै सिटमा चारजना समेतको टिकट काटेर ठगी गर्न खोजिएको पनि खुलेको छ । विभिन्न ठाउँमा यात्रुहरूको अत्यधिक चाप छ । एउटै लामो दूरीका बसहरूले एउटै सिटमा चारजनासम्मको टिकट काटेर यात्रुलाई दुःख दिने गरेका छन् ।

त्यस्ता बस चालकहरूलाई कारबाही गरी यात्रुको टिकट सिटको ग्यारेन्टी गरेका छौँ । सार्वजनिक यातायात राष्ट्रिय महासंघका महासचिव भरत नेपालले यातायात सञ्चालकले दसैँका बेलामा आफूखुसी २० प्रतिशतसम्म बढी भाडा लिन पाउने जिकिर गरे । “यसपटकको दसैँमा भाडा बढाइएको छैन् । यातायात सञ्चालकहरूले स्वचालित भाडादरको २० प्रतिशतसम्म बढी भाडा लिन पाउँछन् । त्यसको आधारमा यात्रुसँग भाडा लिएका हुन् । इन्धनको मूल्यानुसार भाडा घटबढ गर्ने प्रावधान भए पनि चाडपर्वका बेला यात्रु मर्कामा पर्दै आएका छन् । यातायात व्यवस्था विभागले चाडपर्वको मौका छोपेर सार्वजनिक यातायातले बढी भाडा असुल्ने, टिकट कालोबजारी गर्नेमाथि कारबाहीको चेतावनी दिएको छ । तोकिएको भाडादरअनुसार मात्र टिकट काट्ने व्यवस्था गर्न र अनलाइन टिकट प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकाय र सरोकारवालालाई विभागले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *