प्रहरी र सशस्त्रलाई १५६ नयाँ गाडी खरिद गरिने
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई १५६ नयाँ गाडी खरिद गर्न सहमति प्रदान गरेको छ । गएको भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनमा प्रहरी र सशस्त्रका ठूलो संख्यामा गाडी तोडफोड र आगजनी गरिएको थियो । सोही कारण अर्थले नयाँ गाडी खरिद गर्न सहमति प्रदान गरेको हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म)को प्रगति विवरणमा प्रहरी र सशस्त्रलाई उक्त संख्यामा नयाँ गाडी खरिद गर्न सहमति प्रदान गरिएको उल्लेख छ ।
प्रहरी र सशस्त्रलाई १५६ नयाँ गाडी खरिद गर्न थप ६८ करोड ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराइन पनि अर्थ मन्त्रालयले सहमति प्रदान गरेको छ । नेपाल प्रहरीका लागि १०० थान पिकअप र ६ थान प्रिजनर भेइकल खरिदका लागि ४५ करोड ३० लाख थप बजेट उपलब्ध गराउन स्रोत सहमति प्रदान गरिएको छ, अर्थको प्रगति विवरणमा भनिएको छ । मन्त्रालयका अनुसार, सशस्त्र प्रहरीका निम्ति २० पिकअप, २० थान प्रदर्शन नियन्त्रण गाडी, दुई एम्बुलेन्स, तीन डिजास्टर रेस्क्यु म्यान र पाँच ट्रक खरिदका निम्ति २३ करोड पाँच लाख रुपैयाँ थप बजेट उपलब्ध गराउन सहमति प्रदान गरिएको छ ।
















