गोल्छा ग्रुपको नियोटेरिकको वार्षिक व्यापार साढे ३ अर्ब
काठमाडौं । गोल्छा ग्रुपको नियोटेरिक नेपालको व्यापार ४.५० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४.५० प्रतिशतले घटेको हो । सन् २०२४ मा ३ अर्ब ६६ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा ३ अर्ब ४९ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ५८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार घटे पनि नाफा भने बढेको पाइएको छ । सन् २०२४ मा ५.१८ प्रतिशत नाफा कमाएको कम्पनीले सन् २०२५ मा ५.३४ प्रतिशत नाफा कमाएको छ । साथै, कम्पनीले ०.४५ प्रतिशत खुद नाफा कमाएको छ । सन् २००४ मा स्थापना भएको कम्पनी आइटी क्षेत्र र डेल ल्यापटप र सर्भरको आधिकारिक बिक्रेता हो । कम्पनी नोकिया कर्पोरेशनको टेलिकम सामग्री बेच्ने आधिकारिक विक्रेतासमेत हो । कम्पनीले नेपालमा ३० वटाभन्दा बढी ब्रान्ड र एक हजारभन्दा बढी सामग्री बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले डेल टेक्नोजि, डेल इएमसी, नोकिया, हाइकभिजन, पिपललिंक, एसएपी र अन्य कम्पनीसँग वितरकको लागि सम्झौता गरी नेपालमा व्यापार गर्दै आएको छ । कम्पनीको देशभर पाँच वटा शोरुम छन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ६८ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५१ करोड २९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब १७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीले चीन, मलेसिया र भारतबाट सामग्री आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनी सूचना तथा प्रविधि क्षेत्रको सामग्री आयात गर्ने सबैभन्दा ठूलो कम्पनी हो । कम्पनीको संस्थागत संस्थापक सेयरधनी हिम इलेक्ट्रोनिक्स हो भने व्यवसायी शेखर गोल्छा नेतृत्वमा रहेको गोल्छा ग्रुपका केही व्यक्तिको पनि लगानी छ । हिम इलेक्ट्रोनिक्स नेपालको लागि सामसङ ब्रान्डको आधिकारिक विक्रेता हो । नियोटेरिकका अध्यक्ष शेखरका भाइ सञ्जय गोल्छा हुन् ।















