बैंकिङ क्षेत्रको मुख्य उद्देश्य अर्थतन्त्र सुदृढ बनाउनु हो : अध्यक्ष पौडेल
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेलले छैटौं साधारण सभामा बोल्दै देशले निरन्तर भोग्दै आएका चुनौतीका अवस्थामाझ पनि बैंक तथा वित्तीय संस्थाहरूले सन्तोषजनक प्रगति गर्दै आएको बताएका छन्। राजनीतिक अस्थिरता, लामो समयदेखिका आन्तरिक द्वन्द्व, भूकम्प तथा नाकाबन्दी जस्ता विपत्तिबाट देश प्रभावित भइरहे पनि बैंक तथा वित्तीय क्षेत्रले आफ्नो वित्तीय प्रगति थामेर अघि बढ्न सफल भएको उनको भनाइ छ। उनले वर्तमान परिस्थितिमा बैंक तथा वित्तीय क्षेत्रले अझ गम्भीर आत्मसमिक्षा गर्दै सुधारको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। गैरबैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन, नयाँ संरचनाबाट अघि बढ्ने नीति तथा कर्जा नोक्सानी अवस्थाको पुनरावलोकन अपरिहार्य रहेको उनले स्पष्ट पारे। उनले भने, ‘ऋण तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने कम्पनीहरूका लागि ५ प्रतिशतभन्दा बढी नोक्सानी व्यवस्था निर्धारण गरिएको छ । बैंकहरूको बढ्दो सञ्चालन लागत, डिजिटल प्रविधिको विस्तार र एआईको प्रयोगलाई प्रभावकारी रूपमा उपयोग गर्न सके बैंकिङ क्षेत्र मौलिक रूपमा रूपान्तरण हुनसक्ने छ।’
पौडेलले लगानीयोग्य वातावरण निर्माणका लागि बैंकको भौतिक उपस्थितिलाई समयानुकूल परिमार्जन गर्नुपर्ने र पूँजी व्यवस्थापनमा नयाँ तरिका अवलम्बन गर्नुपर्ने बताए। ‘नीतिनिर्मातालाई वैकल्पिक पुँजी निर्माणको बाटो खोल्न विदेशी लगानी सहजताका लागि आवश्यक छ । बैंक तथा वित्तीय संस्थाका आम्दानी स्रोत विविधीकरणमा जोड दिनुपर्ने छ। विद्यमान सेवा–शुल्कसम्बन्धी व्यवस्था परिमार्जनका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गर्दै निर्देशनात्मक कर्जामा पनि पुनरावलोकन हुनु आवश्यक । कर्जाको उपयोगिता र उपलब्धिको आधारमा नीतिगत सुधार गर्नुपर्ने छ।’ पौडेलले भने । उच्चस्तरको सेवा प्रवाह गर्दै वित्तीय सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ बैंक तथा वित्तीय संस्था अघि बढिरहेको पौडेलले बताए। अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्यसहित वित्तीय समानतामा निरन्तर ध्यान केन्द्रित रहेको उल्लेख गर्दै घरेलु साना तथा मझौला उद्योगमार्फत रोजगारी सिर्जना र घरेलु उत्पादनको प्रोत्साहनमा बैंकहरूको योगदान बढ्दै गएको उनले बताए।
कृषि क्षेत्रमा बैंकको लगानी अहिले अत्यावश्यक रहेको बताउँदै पौडेलले नैतिक सुशासनमा कुनै किसिमको सम्झौता नहुने स्पष्ट पारे। विश्वभर एआईको विकास भइरहेकाले बैंकिङ क्षेत्रलाई पनि सोही दिशामा लैजान आवश्यक पूर्वाधार र लगानी जुटाइरहेको जानकारी उनले दिए। उद्योग क्षेत्र र बैंक क्षेत्रको विकास एकअर्काको पूरक रहेको उल्लेख गर्दै रोजगारी सिर्जना र नवप्रवर्तनमा निजी क्षेत्रको ठूलो भूमिका भएको बताए। उद्योग क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाले ८० प्रतिशत योगदान गर्दै आएको भन्दै देशको अर्थतन्त्र मजबुत बनाउने लक्ष्य बैंकहरूको प्राथमिकतामा रहेको उनले स्पष्ट गरे। निजी क्षेत्रलाई अघि बढाउन बैंकहरूको भूमिका महत्वपूर्ण रहेको स्मरण गराउँदै पौडेलले निजी क्षेत्रको चर्चा हुँदा बैंकहरूको योगदान बिर्सिन नहुने बताए। निजी क्षेत्र र बैंकको सहकार्यले देशलाई आर्थिकरूपमा अघि बढाउन निर्णायक भूमिका खेल्ने उल्लेख गर्दै ‘समृद्ध नेपाल’ को आधार निर्माणमा बैंकहरूको योगदान समेत उचित रूपमा कदर हुनुपर्ने उनले जोड दिए।
















