मधेस प्रदेशका कर्मचारीमाथि हातपात आरोपमा पूर्वसांसदसहित दुई जना पक्राउ
कार्यालयका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले पूर्वसांसदसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका पूर्वसांसद परमेश्वर साह र जिल्ला अध्यक्ष जीवेन्द्र झालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रूगम कुँवरले जानकारी दिए। उनका अनुसार मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयका कर्मचारीहरूमाथि हातपात गरेको आरोप छ। मधेस प्रदेशमा नेकपा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउन बर्दिबासको होटलमा शपथ ग्रहण गरेपछि विरोध भएको थियो। त्यसपछि भोलिपल्ट भएको आन्दोलनको क्रममा कर्मचारीमाथि हातपात भएको थियो।
















