त्रिवि शिक्षण अस्पतालमा हेलिकोप्टर उडान–अवतरणमै ‘अवरोध’
काठमाडौं । देशको प्रमुखमध्येकै एक त्रिवि शिक्षण अस्पतालमा हेलिकोप्टरलाई उडान अवतरणमा असहज भएपछि त्यसको मारमा बिरामी परेका छन् । हेलिकोप्टर उडान र अवतरण नहुँदा त्यहाँ बनाइएको ‘हेलिप्याड क्षेत्र’ समेत अस्तव्यवस्त बनेको छ । हेलिकोप्टर ल्यान्ड क्षेत्र वरपर सवारी र मोटरसाइकल पार्किङ, सुकुम्बासी बस्तीलगायतका अवरोध देखाइएपछि उडान र अवतरणमा समस्या देखाउँदै निजी क्षेत्रका हेलिकोप्टर आउनै छाडेको अस्पतालले जनाएको छ । जसकारण दुर्गम क्षेत्रबाट बिरामी लिएर आउने हेलिकोप्टर शिक्षण अस्पताल परिसरमा अवतरण गर्नै पाउँदैनन् । सतह–स्तर (सरफेस) लेभल हेलिप्याडको निरीक्षण क्रममा गम्भीर सुरक्षा कमजोरी भेटिएको भन्दै नागरिक उड्डयन प्राधिकरण (क्यान) को एरोड्रोम सुरक्षा मापदण्ड विभागले हेलिप्याड सञ्चालन गर्न दिएको छैन । क्यानले अस्पताल परिसरमा रहेको हेलिकोप्टर ‘ल्यान्ड सरफेस’मा हेलिप्याडको अवलोकन गर्दा अस्पताल परिसरका मोटरसाइकल तथा सवारी साधनको अव्यवस्थित पार्किङ, सुरक्षा क्षेत्र नपुगेको, उडान तथा अवतरण मार्गमा अवरोध पुर्याउने संरचनाहरू तथा आवश्यक सुरक्षा उपकरणको अभावजस्ता कारण देखाइदिएपछि निजी क्षेत्रका हेलिकोप्टर ‘आउनै नमान्ने’ अस्पताल प्रशासन स्रोतले जानकारी दियो । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक प्रोफेसर डा। सुवासप्रसाद आचार्यले पनि आफूहरुले उडान अवतरणमा सहजता अपनाइदिन क्यानलाई पत्र लेखेको भए पनि प्रगति नभएको बताए । क्यानको निरीक्षण प्रतिवेदनमा हेलिप्याडमा अवतरण संकेत (एच) तथा अन्य आवश्यक मार्किङहरू मापदण्डअनुसार नभएको, २५.८ मिटरको अनिवार्य सुरक्षा क्षेत्र खाली नराखिएको, उत्तर–पूर्व दिशा तिर सुकुम्बासी बस्तीका घरहरूका कारण उडानरअवतरण मार्ग अवरुद्ध भएको, हावाको दिशा र गति जनाउने ‘विन्डसक’ नराखिएको, तथा आगो नियन्त्रणका उपकरण र तालिमप्राप्त जनशक्ति उपलब्ध नभएको उल्लेख गर्दै रोकिएको थियो । यस्तै, हेलिप्याड सञ्चालनका लागि आवश्यक मानक सञ्चालन प्रकृया (एसओपी) नबनाएको, हेलिप्याड सञ्चालन संयन्त्र अस्पतालमै स्थापना नगरेको र हेलिप्याड नजिकै रहेको फूलबारीबाट कागज तथा फोहोर उड्ने सम्भावनाले अतिरिक्त खतरा उत्पन्न भएको रिपोर्टमा उल्लेख गरिएको थियो । ०७९ चैत १२ मा पनि क्यानले हेलिप्याड वरपर मोटरसाइकल र अन्य सवारीसाधन अव्यवस्थित रूपमा पार्किङ भएको तथा प्राधिकरणबाट कुनै अनुमति नलिइ सञ्चालन गरिएको भन्दै तत्काल सञ्चालन रोक्न निर्देशन दिएको थियो । सोही पत्रमा अनुमति प्राप्त गर्न अस्पतालले स्थानीय तहको सिफारिससहित एसओपी, आगो नियन्त्रणका उपकरण, सुरक्षा व्यवस्था र अन्य आवश्यक कागजात क्यानले पेश गर्नुपर्ने उल्लेख गरेको थियो । पुनः ०८० मंसिर २६ मा जारी गरिएको पत्रमा क्यानले निरीक्षणमा देखिएका कमजोरी गम्भीर सुरक्षा जोखिम हुने भएकाले अस्पतालले तत्काल सुधार कार्य अगाडि बढाउन भनेको थियो । अस्पतालले पनि नजिकै रहेको सबै सुकम्बासी बस्ती हटाउन आफूहरुले नसकिने, त्यसमा सरकारले नै सहजीकरण गरिदिनुपर्नेबाहेकका अन्य देखाइएका कमजोरी सुधार गरिसक्दा पनि क्यानले अप्ठेरो पारिरहेको जनाएको छ । तर हेलिकोप्टर उडान र अवतरणमा समस्या नपर्नेगरी खाली गराइएको पनि अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक आचार्यले २०८१ फागुन ५ गते क्यानलाई सम्बोधन गरी पत्र लेख्दै अस्पतालका तर्फबाट गर्नुपर्ने सबै काम गरिएको हुँदा पुनः एकपल्ट अवलोकन गरी हेलिकोप्टर अवतरण गर्ने व्यवस्था मिलाइदिनुहुन अनुरोध गरेका थिए । त्यसपछि अहिलेसम्म क्यानका कोही पनि प्रतिनिधि पुनः अवलोकनका लागि पुगेका छैनन् । अस्पताल प्रशासनबाट काठमाडौं महानगरपालिकाको सहयोगमा हेलिप्याड क्षेत्र वरिपरि सुकुम्बासी वस्तीहरुमा रहेका जस्ताका टहरा हटाइसकेको, हेलिकोप्टर ल्यान्डिङ क्षेत्रमा प्रशस्त मार्किङको व्यवस्था मिलाइएको र हेलिप्याड रहेको स्थानसमेत पूर्णरुपमा खाली नै राखेकाले सुरक्षाका दृष्टिले हेलिकोप्टर सुरक्षित तवरले बस्ने र उड्ने पर्याप्त स्थान रहेकाले पुनः एकपटक प्रत्यक्ष अवलोकन गरी हेलिकोप्टर अवतरण गर्ने व्यवस्था मिलाइदिन हुन अनुरोध गर्दछु, क्यानलाई लेखिएको पत्रमा उल्लेख छ । यता क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल हेलिकोप्टर ल्यान्डको लागि तोकेको सुरक्षा मापदन्ड पूरा गर्नुपर्ने उल्लेख गर्छन् । पहिला टिचिङमा हेलिकोप्टर ल्यान्ड गर्न समस्या थिएन । पछि काठमाडौंमा ट्राफिक धेरै बढ्यो भनेर अहिले रेस्क्यु उडानमात्रै दिएका छौं । रेस्क्युबाहेक बाहेक अन्य फ्लाइटहरु हामीले दिने गरेको छैनौँ । इमेर्जेन्सी भएको अवस्थामा त समस्या छैन । हस्पिटलको केसमा त्यस्तो हुँदैन । हस्पिटलमा त अब मानवीय रुपमा रेस्क्यु बिरामीलाई ल्याएर आउने हो । उक्त क्षेत्रमा राष्ट्रपति निवास क्षेत्र नजिक रहेका कारण पनि निषेधित क्षेत्र रहेको भुल बताउँछन् । राष्ट्रपति निवासको वरिपरि चाहिँ त्यसलाई हामी निषेधित क्षेत्र घोषणा गरेका छौं । राष्ट्रपतिको निवासको वरिपरि भएकोले गर्दा मुभमेन्ट कम भएको होला, हामीले मानवीय रुपमा रेस्क्यु फ्लाइटको लागि समस्या छैन । तर क्यानले सहज व्यवस्था नगरिदिँदा हेलिकोप्टर कम्पनीहरु आउनै नमान्ने अस्पतालले जनाएको छ ।
















