सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न
काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाको २३ औँ वर्ष सफलतापूर्वक पूरा गरेको छ। बैंक सञ्चालनको २३ वर्ष पूरा भएको अवसरमा नक्सालस्थित प्रधान कार्यालय भवनमा का.मु. प्रमुख कार्यकारी अधिकृतसहित बैंकका कर्मचारीहरूको उपस्थितिमा औपचारिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरिएको हो। वार्षिकोत्सवलाई भव्य तथा अर्थपूर्ण बनाउने उद्देश्यले बैंकले विभिन्न आन्तरिक तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू आयोजना गरेको छ। यसअन्तर्गत बैंकका कर्मचारीहरूबीच फुटसल प्रतियोगिता, टेबल टेनिस लगायतका खेलकुद कार्यक्रम सम्पन्न गरिएका छन्।
साथै, बैंकमा कार्यरत रहँदै १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूको योगदानको कदर गर्दै सम्मान कार्यक्रम पनि आयोजना गरिएको छ। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिद्धार्थ बैंकले देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको छ। बैंकका अनुसार विराटनगर, दमक, वीरगञ्ज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी गरी ११ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक महानुभाव तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको बैंकले जनाएको छ। कार्यक्रममा ४३४ पुरुष र ५४ महिला गरी जम्मा ४८८ जनाले रक्तदान गरेका छन्, जसले बैंकको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्काएको छ।
















