सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न स्वीकृति

काठमाडौं । सिद्धार्थ बैंकले अविमोच्य असञ्चिति अग्राधिकार (पर्पेच्युअल नन क्युमुलेटिभ प्रेफरेन्स) सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीले ३ करोड ५० लाख कित्ता यस्तो सेयर निष्कासनका लागि अनुमति पाएको हो । अविमोच्य असञ्चिति अग्राधिकार सेयर अंकित मूल्य १ सयमा जारी हुनेछ । यसको नाम ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर रहेको छ । यसअघि नबिल बैंक, एनएमबी बैंक तथा कामना सेवा विकास बैंकले यस्तो सेयर निष्कासनका लागि बोर्डबाट स्वीकृत पाएका छन् । एसबीएल अविमोच्य अग्राधिकार सेयरको बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

बैंकका संस्थापक सेयरधनीले मात्रै यस्तो सेयर खरिद गर्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुनेगरी संस्थागत लगानीकर्तालाई मात्रै यस्तो सेयर निस्कासन गर्न सक्छन् । परिपत्र विधिमार्फत निष्कासन हुने यस्तो सेयरमा सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैनन् । बैंकहरूले जारी गर्ने अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोक्न नपाउने, संस्थागत लगानीकर्ताले मात्रै खरिद गर्न पाउने, यस्ता सेयरधनीलाई सञ्चित मुनाफाबाट लाभांश दिने नपाउने जस्ता सर्त तोकिएको छ । यस्तै संस्था खारेज भएमा निक्षेप, ऋणपत्र र पूरक पूँजीमा समावेश भएका नियामकीय पूँजीपछि मात्रै यस्तो सेयर धारण गर्ने लगानीकर्ताले भुक्तानी पाउने व्यवस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *