राष्ट्रिय वाणिज्य बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षक नियुक्तिलगायत विभिन्न प्रस्तावहरू स्वीकृत गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष ढकालले बैंकले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो व्यवसाय विस्तार गरिरहेको बताए । उनले समयसापेक्ष परिमार्जनसहित प्रविधिमा आधारित सेवामार्फत ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न बैंकले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरे । अध्यक्ष ढकालका अनुसार बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै बैंकले आफ्नो प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिहरूमा समयानुकूल परिमार्जन गर्दै आएको छ ।

साधारण सभामा बैंकका शेयरधनीका रूपमा नेपाल सरकारका विभिन्न निकाय अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि र सर्वसाधारण सेयरधनीहरूको उपस्थिति रहेको थियो । सभामा अध्यक्ष ढकालले प्रस्तुत गरेको प्रतिवेदनमाथि सेयरधनीहरूले टिप्पणी तथा सुझाव राखेका थिए । ती टिप्पणी र जिज्ञासाहरूको जवाफ अध्यक्ष ढकालले दिएका थिए । साधारण सभामा सञ्चालक समितिका सदस्यहरू, स्वतन्त्र सञ्चालक, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब तथा उपकार्यकारी अधिकृतहरू, बाह्य लेखापरीक्षक, कानुनी सल्लाहकार, कर्मचारी युनियनका प्रतिनिधि, विभागीय प्रमुखहरू तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । साधारण सभाको सञ्चालन कम्पनी सचिव प्रमोद अधिकारीले गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *