भक्तपुर २ मा कांग्रेसको बिरासत जोगाउन कबिर राणा मैदानमा

भक्तपुर । आगामी फागुन २१ गते हुने जेन्जी आन्दोलन पछिको अर्ली इलेक्सनका लागि नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर २ मा वरिष्ठ पत्रकार एवं राजनीतिज्ञ कबिर राणालाई उम्मेदवार बनाएको छ। झण्डै पाँच दशकदेखि राजनीति र चार दशकदेखि लोकतन्त्रका लागि मिसन पत्रकारितामा सक्रिय राणाले आफ्नो उम्मेदवारीलाई पार्टीप्रतिको निष्ठा र त्यागको सम्मानका रूपमा लिएका छन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राणाले नेपाली कांग्रेसको परम्परागत आदर्श (लोकतन्त्र, समाजवाद र राष्ट्रियता) सँगै अब बदलिएको परिस्थिति अनुसारका एजेन्डाहरूलाई अगाडि बढाउने बताएका छन्। उनले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि राजनीतिमा नयाँ आयाम थपिएको उल्लेख गर्दै भने, अबको राजनीति सत्ता लुलुपताका लागि होइन, विकास र सुशासनका लागि हुनुपर्छ। भ्रष्टाचारमुक्त समाज र युवा पलायन रोक्ने ठोस योजना मेरो प्राथमिकता हो । राणाले पुरानो सैद्धान्तिक शिक्षाको सट्टा अब रोजगारी सिर्जना गर्ने प्राविधिक र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताएका छन्। भक्तपुर क्षेत्र नम्बर २ लाई नेपाली कांग्रेसको ऐतिहासिक गढ मान्दै राणाले आफूलाई यस क्षेत्रको सबैभन्दा बलियो उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्। २०४८ सालदेखिको इतिहास हेर्ने हो भने हामीले यहाँ बहुमत पटक जितेका छौं। पार्टीभित्रको केही आन्तरिक असमझदारीले कहिलेकाहीँ नतिजा उल्टिए पनि अहिले कांग्रेस एक ढिक्का छ, उनले प्रष्ट पारे ।

पार्टीको विशेष महाधिवेशनले नीति, नेतृत्व र विधानमा ल्याएको परिवर्तनले देशभरका कार्यकर्तामा नयाँ उत्साह थपेको र यसले चुनावमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ। आफ्नो चुनावी प्रतिबद्धताका बारेमा बोल्दै राणाले भक्तपुरमा अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गरे। उनले आफ्ना मुख्य योजनाहरू यसरी प्रस्तुत गरेका छन् । काकाकुलको अवस्थामा रहेका क्षेत्रहरूमा खानेपानी पुर्याउने। मेलम्चीको विकल्पमा आशापुरी खानेपानी आयोजनाको डिपिआर सम्पन्न गरी आफ्नै कार्यकालमा निर्माण पूरा गर्ने। पहिरो नियन्त्रण र सडक सञ्जालको स्तरोन्नति। परम्परागत स्वास्थ्य चौकीको सट्टा अत्याधुनिक उपकरणसहितका अस्पताल निर्माण गर्ने र शिक्षालाई प्रविधिमैत्री बनाउने। बिपी कोइरालाले अघि सारेका शिक्षा, स्वास्थ्य र आवासको अवधारणालाई भक्तपुर २ का प्रत्येक घरधुरीसम्म पुर्‍याउने । उम्मेदवार राणाले भक्तपुरका मतदातालाई फागुन २१ गते रुख चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन अपिल गरेका छन् । उनले जनताको मतलाई खेलबाड नगर्ने र आफ्ना प्रतिबद्धताहरू अक्षरसस् पालना गर्ने प्रण समेत गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *