बंगलामुखी सहकारीलाई प्राधिकरणबाट संस्था सञ्चालन इजाजत
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं.२ बसिडोलमा मुख्य कार्यालय रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले ‘संस्था सञ्चालन इजाजतपत्र’ लिएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको लागि दर्ता अभिलेखीकरण खुल्ला गरेसँगै उक्त संस्थाले पनि इजाजतपत्र लिएको हो । सहकारी प्राधिकरणले गत मंसीर २० गतेबाट सफ्टवेयर मार्फत सहकारी संस्थाको दर्ता अभिलेखीकरण खुला गरेको थियो । सोही अनुरुप संस्थाले पनि सम्पूर्ण प्रक्रिया पुरा गरी इजाजतपत्र लिएको जनाएको छ ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम प्राधिकरणमा दर्ता अभिलेखीकरण गरी संस्था सञ्चालन इजाजतपत्र जारी गरेको इजाजतपत्रमा जनाएको छ । संस्थाको इजाजतपत्र नं. २०६४–००२२२ रहेको छ । बागमती प्रदेश, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र भक्तपुर र ललितपुर जिल्लाका साथै काठमाडौं महानगरपालिका रहेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठका अनुसार यस आर्थिक बर्षको पौष मसान्तसम्म संस्थाको कुल सम्पत्ति १ अर्ब ५३ करोड २२ लाख रहेको छ । संस्थाको शेयर पुँजी १४ करोड ३५ लाख,जगेडा कोष ४ करोड ७ लाख, बचत संकलन १ अर्ब २२ करोड ३० लाख र ऋण लगानी १ अर्ब ८ करोड १४ लाख रहेको छ । संस्थामा ३ हजार ७१६ सदस्य आवद्ध रहेका छन् भने ५०२ जनाले संस्थाबाट ऋण सुविधा लिएका छन् । संस्थागत पुँजी ४ करोड ५७ लाख ६४ हजार रहेको संस्थाको अन्य कोषहरुमा ४ करोड २८ लाख ९७ हजार रकम पुगेको छ ।
















