‘जेनजी’ आन्दोलनका घटनाको जाँचबुझ अन्तिम चरणमा

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगको काम सकिने चरणमा पुगेको छ । गत भदौ २३ गते राज्य पक्षबाट र २४ गते प्रदर्शनकारीबाट घटाइएका घटनामा भएको धनजनको क्षति छानबिन र दोषीलाई कारबाहीका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन भएको थियो । आयोगका प्रवक्ता विज्ञानराज शर्माले अहिले प्रतिवेदन लेखनको काम भइरहेको बताए । “अहिले प्रतिवेदन लेख्ने र थप बुझ्ने काम भइरहेको छ,” प्रवक्ता शर्माले भने, “काम सकिने चरणमा छ । समयमै सक्ने योजना छ ।” उनले अब म्याद थप्नुपर्ने अवस्था नरहेको पनि बताए । आयोगले मुख्य गरी दुई खण्डमा जाँचबुझ कार्य सम्पन्न गर्ने छ । घटनाको विश्लेषण गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुझाव र दोषीमाथि कारबाहीका लागि सिफारिस हुनेछ । जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले छानबिनका लागि तीन महिनाको समय दिएर जाँचबुझ आयोग गठन गरेको थियो । जाँचबुझ आयोगले गत २०८२ असोज ८ गतेदेखि काम थालेको थियो । तीनमहिने म्याद पुस ९ गते नै सकिएको हो । यस अवधिमा काम नसकिएपछि बीचमा मन्त्रिपरिषद्को निर्णय अनुरुप पुनः एक महिना म्याद थप गर्ने निर्णय भयो । पहिलोपल्ट थपिएको उक्त म्याद माघ ८ मा सकिएपछि पुनः दुई साताका लागि बढाइएको थियो । अन्तिमपल्ट म्याद थप्ने बेला २० प्रतिशत काम बाँकी थियो । थाती रहेका कामलाई अन्तिम रुप दिन आयोगका कर्मचारी युद्धस्तरमा खटिएका छन् ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने कार्यदेश कार्की आयोगलाई तोकिएको छ । आयोगका अनुसार, हानिनोक्सानी भएको सरकारी सम्पत्तिका अतिरिक्त निजी क्षेत्रका उद्योग, प्रतिष्ठान भवन, कलकारखाना, विभिन्न व्यक्तिका निजी घर भवनमा भएको आगजनी, लुटपाट, तोडफोड र क्षतिको विवरण समेत पनि संकलन गरिएको छ । अहिले प्रतिवेदन लेखनको काम धमाधम चलिरहेको छ । जेनजी आन्दोलनमा भएको हत्या, तोडफोड, आगजनी, हत्यालगायत प्रकरणमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा प्रमुखहरू, मुख्यसचिव, सचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरका तत्कालीन प्रमुख, सुरक्षामा खटिएका सुरक्षा कमान्डर र जेनजी अभियन्ताहरूसँग समेत बयान लिइएको छ । जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो भने दुई हजार ४२९ जना घाइते भएका थिए । तोडफोड, आगजनीसहितका विध्वंसात्मक कार्यबाट सार्वजनिक तथा निजी क्षेत्र गरी ८४ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको सरकारी अनुमान छ । यसबीचमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न एकसयभन्दा बढी व्यक्तिसँग बयान तथा सोधपुछ गरिएको छ । ‘जेलब्रेक’का घटनामाथि पनि जाँचबुझ गरिएको छ । आयोगले जाँचबुझका क्रममा आगजनीमा रसायनको प्रयोग भए,नभएको विषयमा पनि घटनास्थलको नमुना संकलन गरी परीक्षण गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *