स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

काठमाडौं । अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी नेपाल फर्काइएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरी शुक्रबार नेपाल फर्काएको हो । म्यानमारमा सञ्चालिन अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न चार नेपाली नागरिकलाई थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी टाक इमिग्रेसन अफिस, मेसोट हुँदै बैंकक ल्याई आज (माघ १६ गते) नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्काइएको छ, बैंककस्थित नेपाली दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेपाल फर्काइएका चारमध्ये एकजना महोत्तरी, एकजना नुवाकोट र दुईजना दाङ जिल्लाका रहेका छन् । चारैजनाले स्नातक तहसम्मको अध्ययन पूरा गरेको दूतावासले जनाएको छ । उद्धार गरिएका चारमध्ये एकजनाले थाइल्यान्डमै स्नातक तहको अध्ययन गरी होटेलमा रिसेप्सनिष्टको रूपमा कार्यरत थिए । धेरै आम्दानीको प्रलोभनमा परी म्यानमार गएको जानकारी उनले दूतावासका अधिकारीलाई दिएका छन् । दूतावासका अनुसार, दाङका अर्का एकजनाले दाङ जिल्लाकै एक सरकारी कार्यालयमा केही वर्ष कम्प्युटर अपरेटरको रूपमा काम गरेका थिए ।

उद्धार गरिएका सबै थाइल्यान्डमा डाटा इन्ट्री अफिसरको रूपमा काम गर्ने भनेर नेपालबाट ल्याइएका तर, थाइल्यान्ड आइपुग्नेबित्तिकै जबर्जस्ती म्यानमार पुर्‍याइएको दूतावासले जनाएको छ । यस घटनाले उच्च शैक्षिक योग्यता हासिल गरेका नेपाली नागरिकहरू समेत सामाजिक सञ्जाल, साथीभाइ, आफन्त तथा आकर्षक विज्ञापनको ललाईफकाईमा परी धेरै कमाउने लोभमा फस्ने वा फसाइने गरेको देखिएको छ, विज्ञप्तिमा भनिएको छ । यसैगरी, अनलाइन स्क्यामिङसम्बन्धी यस्ता गैरकानुनी गतिविधिमा नेपाली नागरिकलाई संलग्न गराउने कार्य कम्बोडियामा पनि बढ्दो क्रममा रहेको दूतावासले जनाएको छ । “दैनिक रूपमा त्यस्ता स्थानमा फसेका नेपाली नागरिक वा उनीहरूका परिवारजनबाट उद्धारको लागि अनुरोध गर्दै राजदूतावासमा सम्पर्कमा आउने गर्नु भएको छ भने दूतावासले निजहरुको उद्धारको लागि आवश्यक कन्सुलर सेवा प्रवाह गरिरहेको छ । यसरी निजहरू नेपाल फर्कने क्रममा कम्बोडियाको अध्यागमन कानून अनुसार निजहरूले धेरै मात्रामा दण्ड जरिवाना तिर्नुपर्ने, लामोसमय सम्म जेल बस्नुपर्ने समेत भईरहेको छ,” दूतावासले भनेको छ । थाइल्यान्ड जाने नाममा म्यानमार, कम्बोडिया तथा लाओसको गोल्डेन ट्रायंगल क्षेत्रमा सञ्चालनमा रहेका स्क्यामिङ केन्द्रहरूमा पुर्‍याइने जोखिम उच्च रहेको हुँदा राम्रो कमाइको प्रलोभनमा नपर्न दूतावासले अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *