चन्द्रमामा होटल बन्दै, कोठाको अग्रिम बुकिङ
२१ वर्षीय अमेरिकी युवा स्काइलर च्यानले स्थापना गरेको ‘जीआरयू स्पेस’ नामक स्टार्टअप कम्पनीले आगामी सन् २०३२ सम्म चन्द्रमामा संसारकै पहिलो होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । उक्त महत्वाकांक्षी योजनालाई मूर्तरुप दिनका लागि कम्पनीले अहिलेदेखि नै अन्तरिक्ष प्रेमीहरूका लागि होटलका कोठा बुकिङ खुलाएर अग्रिम भुक्तानी लिन सुरु गरिसको छ । हुनत सो चन्द्र होटलका कोठाको अन्तिम मूल्य कति हुने हो अझै तय भइसकेको छैन । तथापि एउटा कोठाको मूल्य १ करोड अमेरिकी डलरभन्दा धेरै हुने अनुमान संस्थापक च्यानको छ। अग्रिम बुकिङका लागि त्यो सबै रकम भुक्तानी गर्नुपर्ने छैन । छनोट गरेका सुविधा अनुसार कम्पनीले हाल २ लाख ५० हजारदेखि १० लाख डलरसम्म डिपोजिट लिइरहेको छ। यद्यपि चन्द्रमामा होटल निर्माणको घोषणा यसअघि अन्य कतिपय कम्पनीहरूले गरिसकेका छन् । तर जीआरयू स्पेसको योजना अरूभन्दा फरक छ, यसको निर्माण विधिका कारण । पृथ्वीबाट निर्माण सामग्री र भारी मेसिनरी चन्द्रमामा पठाउनुको सट्टा कम्पनीले रोबोटिक प्रविधि प्रयोग गर्ने योजना बनाएको छ । यी रोबोटहरूले चन्द्रमाको माटोबाट बलिया र टिकाउ ब्लक तयार गर्नेछन् र तिनै ब्लक प्रयोग गरेर चन्द्रमाको कठोर वातावरण सहन सक्ने बलियो संरचना खडा गरिनेछ । नियामक निकायको स्वीकृति प्राप्त भएमा संसारकै पहिलो यो चन्द्र होटलको निर्माण कार्य सन् २०२९ बाटै सुरु हुने अपेक्षा गरिएको छ । कम्पनीका संस्थापक स्काइलर च्यानले एक वक्तव्यमा भनेका छन्, ‘हामी इतिहासको यस्तो मोडमा बाँचिरहेका छौँ, जहाँ हामी जीवित रहँदै अन्तरग्रहीय प्रजाति बन्न सक्छौँ । यदि हामी सफल भयौँ भने चन्द्रमा र मंगल ग्रहमा अर्बौँ मानिस जन्मनेछन् र उनीहरूले चन्द्र र मंगल जीवनको सौन्दर्य प्रत्यक्ष अनुभव गर्न पाउनेछन् । पृथ्वीबाहिर पहिलो स्थायी मानव संरचना बनाउने उक्त कम्पनीको लक्ष्य धेरैलाई कल्पनाजस्तो लाग्न सक्छ । तर स्काइलर च्यान चानचुने स्टार्टअप संस्थापक होइनन्। सानै उमेरदेखि अन्तरिक्षप्रति गहिरो चासो राखेका च्यानले किशोरावस्थामै वायुसेना पाइलटको तालिम लिन थालेका थिए । बर्कले विश्वविद्यालयबाट स्नातक हुनुअघि नै उनले नासाको स्वीकृति प्राप्त थ्रीडी प्रिन्टिङ प्रयोगको विकासमा योगदान दिएका थिए । त्यसलाई सफलतापूर्वक अन्तरिक्षमा पठाइएको थियो । गतवर्ष उनी अमेरिकाको सिलिकन भ्यालीमा स्थापना गरिएको चर्चित ‘वाई कम्बिनेटर’ नामक स्टार्टअप सहायता कार्यक्रममा छनोट भई अन्तरिक्ष स्टार्टअप स्थापना गर्ने सबैभन्दा कान्छो व्यक्ति बनेका थिए ।
















