नेविसंघ अब कांग्रेसको ‘शुभेच्छुक’ संगठन बन्ने
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’मा जाने निर्णय गरेको छ । नेविसंघका सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली कांग्रेसको परम्परागत ‘भ्रातृ संगठन’ मात्र भएर नबस्ने बरु ‘शुभेच्छुक संगठन’को रूपमा स्वायत्त ढंगले अघि बढ्ने घोषणा गरेका हुन् । सभापति शेर्पाका अनुसार, नेविसंघले अब आफ्नो विधान आफैँ बनाउने, आफ्नो नेतृत्व आफैँ चयन गर्ने र आफ्ना कार्यक्रमहरू स्वतन्त्र रूपमा तय गर्नेछ ।
उनले एउटा सामान्य विज्ञप्ति निकाल्न वा आन्दोलनका कार्यक्रम तय गर्न पनि पार्टीका पदाधिकारीहरूसँग अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रियाले विद्यार्थी आन्दोलन कमजोर भएको तर्क गरे । हामी नेपाली कांग्रेसको विचार, बीपी कोइरालाको लोकतान्त्रिक समाजवाद र पार्टीको आदर्शप्रति पूर्ण प्रतिवद्ध छौँ, तर हरेक साना निर्णयका लागि पार्टी नेतृत्वको मुख ताक्ने अवस्था अब अन्त्य हुनुपर्छ । हामी पार्टीभित्र एउटा ‘वाच–डग’ र सरकारको रचनात्मक प्रतिपक्षको रूपमा उभिन चाहन्छौँ ।
















