कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (मंगलबार) देखि सुरू हुने बैठकका एजेन्डाहरू तय गरेको छ । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठकका लागि इतर समूहले तीन वटा एजेन्डा तय गरेको हो । धुम्बाराहीको होटल स्मार्टमा बिहान ११ बजेका लागि बोलाइएको दुई दिने बैठकमा मुख्य तीन एजेन्डाहरूमा छलफल हुने तयारी गरिएको निवर्तमान केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।

बरालका अनुसार बैठकका लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुअघि तत्कालीन संस्थापन समूहले आगामी बैशाखको अन्तिमतिर १५ औं महाधिवेशनको कार्यतालिका पारित गरेको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १८ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको २८–३१ वैशाखमा १५ औं महाधिवेशनको कार्यतालिका पारित भएको थियो । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकपछि १९ चैतमा जिल्ला सभापतिहरूको भेला पनि बोलाउने निवर्तमान कार्यवाहक सभापति खड्काले तयारी गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *