जनप्रतिनिधि इमान्दार भए जनताले गुणस्तरीय सेवा पाउने स्पष्ट उदाहरण ख्वप अस्पताल हो : मुख्यमन्त्री बानियाँ

भक्तपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले भक्तपुर नगरपालिकामा अवस्थित ख्वप अस्पतालको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले ख्वप अस्पतालले चौबीसै घण्टा जनतालाई सेवा प्रदान गर्दै आएकोमा प्रशंसा गरे। उनले जनप्रतिनिधि इमान्दार भए जनताले गुणस्तरीय सेवा पाउने स्पष्ट उदाहरण ख्वप अस्पताल भएको उल्लेख गरे। जनप्रतिनिधि जनताको सेवक हो, शासक होइन। जनताप्रति सधैं इमान्दार हुनुपर्छ । कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्यहरू सुरेन्द्र गोसाई र सिर्जना सहित भक्तपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, अस्पताल व्यवस्थापन समिति, मेसु, प्रशासकीय प्रमुख, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

वि.सं. २०२० सालमा स्थापना भएको ख्वप अस्पताल पुराना अस्पतालमध्ये एक रहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले स्थानीय तहले आफ्नै करिब ९० प्रतिशत बजेटबाट सञ्चालन गरेको यो अस्पताल उदाहरणीय रहेको बताए। संघ र प्रदेशबाट समेत आंशिक सहयोग हुँदै आएको उनले जानकारी दिए। उनले अस्पतालको पूर्वाधार विकास, आधुनिक उपकरण व्यवस्थापन तथा अपूरा भवन निर्माणका लागि प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। मानिसको सबैभन्दा ठूलो धन स्वास्थ्य हो, उनले भने, स्वास्थ्य राम्रो भए धन आफैं आर्जन गर्न सकिन्छ, तर धन भएर पनि स्वास्थ्य नभए त्यसको कुनै अर्थ हुँदैन।

मुख्यमन्त्री बानियाँले बागमती प्रदेशका १३ जिल्लाका नगरपालिकासँग सहकार्य गर्दै कृषि, आयआर्जन वृद्धि र बजार व्यवस्थापनमा प्रदेश सरकार सक्रिय रहने बताए। जिल्लागत उत्पादनको पहिचान गर्दै किसानलाई अनुदान, उत्पादनको प्रवर्द्धन र बजार सुनिश्चिततामा विशेष ध्यान दिइने उनको भनाइ थियो। निरीक्षणका क्रममा अस्पतालको सरसफाइ, व्यवस्थापन तथा मौलिक सांस्कृतिक झल्को दिने संरचनाबाट आफू प्रभावित भएको उल्लेख गर्दै उनले सम्पूर्ण स्वास्थ्यकर्मी, व्यवस्थापन टिम तथा जनप्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गरे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *