पाँच वर्षसम्म जेल सजाय माग गर्दै दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । निर्वाचनअघि दिएको अभिव्यक्तिका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतको कसुरमा बुधबार मुद्दा दर्ता गरेको हो । प्रसाईंलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम सजाय गर्न माग गरिएको छ । उक्त दफाअनुसार, कसुर प्रमाणित भए एक लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन्छ । दफा ४७ (२) अनुसार, कसुर दोहोरिँदा थप सजाय हुने व्यवस्था छ । प्रसाईंविरुद्धको मुद्दामा पटकपटक यस्तो कसुर गरेको देखिएकाले थप सजाय र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउनसमेत माग गरिएको छ । प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी गत फागुन २१ मा सम्पन्न निर्वाचनबारे भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगपत्रमा उल्लेख छ ।

उनले निर्वाचनविरुद्ध बोलेको, ‘निर्वाचन गरिए देश टुक्रिन्छ’ भन्दै वैमनस्यता फैलाउन खोजेको र निर्वाचन आचारसंहिता ०८२ को उल्लंघन गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रसाईंले निर्वाचनअघि राजसंस्था र हिन्दू राज्य कायम नभएसम्म चुनाव हुन नदिने र चुनाव भएमा देशमा अशान्ति मच्चिने दाबी गरेका थिए । त्यस्ता अभिव्यक्तिका भिडियो फेसबुकसहित सामाजिक सञ्जालमा पोस्ट गरेका प्रसाईंले ‘मर्न र मार्न तयार हुने’ र जबर्जस्ती चुनाव गरे ‘देश टुक्रिन सक्ने’ उत्तेजक र हिंसात्मक अभिव्यक्ति दिएको दाबी गरिएको छ । प्रसाईंले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीसँग समेत वार्ता गरेका थिए । तर, उनले वार्ताका क्रममा राजतन्त्र पुनर्स्थापनासहितका मुद्दा उठाएपछि वार्ता निष्कर्षविहीन बनेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *