सांसदलाई कूटनीतिक राहदानी दिलाउन कानुन परिमार्जन गर्ने तयारी
काठमाडौं । प्रतिनिधिसभा सदस्यलाई कूटनीतिक राहदानी उपलब्ध गराउन विद्यमान कानुन परिमार्जन गर्ने तयारी गरिएको छ । बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले दलका प्रमुख सचेतकहरूसँग सांसदलाई कूटनीतिक राहदानी दिनेबारे हालको कानुनी व्यवस्थाबारे छलफल गरेका छन् । सांसदहरूले कुटनीतिक राहदानीको माग गरे पनि कसरी सहज बनाउने भन्नेबारेमा छलफल भएको राप्रपा प्रमुख सचेतक खुस्बु ओलीले जानकारी दिइन् । ऐन र नियम–कानुनभन्दा बाहिर गएरभन्दा पनि विद्यमान कानुनी व्यवस्थालाई नै परिमार्जित गर्ने विषयमा छलफल भएको ओलीले बताइन् ।
राहदानी ऐनमा सरकारी कार्यक्रम वा विशेष काममा जाँदा तोकेका पदाधिकारीले मात्रै कूटनीतिक राहदानी पाउने व्यवस्था छ । तर, सांसदहरू विशेष कार्यक्रम वा निमन्त्रणामा विदेश जानुपर्ने अवस्थामा अहिलेको नियमावली अनुसार, कूटनीतिक राहदानी दिन नमिल्ने देखिएपछि त्यसलाई कसरी सहजीकरण गर्ने भन्नेबारे रायसल्लाह लिने काम भएको ओलीको भनाइ छ । सभामुख र दलका प्रतिनिधिबीच भएको छलफलमा आआफ्ना दलमा छलफल गर्ने र पुनः सभामुखसँग यसबारे थप कुरा गर्ने सहमति भएको ओलीको भनाइ छ । उनले संसद् सञ्चालन र सांसदका समस्याबारे सभामुखले निकै सकारात्मक भूमिका खेलिरहेको पनि प्रतिक्रिया दिइन् ।
















