सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी कदम विरूद्ध धरानमा प्रदर्शन
काठमाण्डौं । प्रधानमन्त्री बालेन साहको निर्देशनमा काठमाडौंका सुकुम्बासी बस्तीहरूमा डोजर लगाइएको घटनाको विरोधमा धरानमा शनिबार प्रदर्शन भएको छ। अघिल्लो शनिबारदेखि बस्ती प्रवेश गराइएको डोजरले हालसम्म सुकुम्बासी बस्तीका १० हजारभन्दा बढीलाई विस्थापनमा पारिसकेको छ। सुनसरीको धरान पनि सुकुम्बासीहरूको बाक्लो बसोबास भएको सहर हो। यहाँ नेपाल बसोबास बस्ती संरक्षण समाज र बस्ती रक्षा संरक्षण परिचालन समितिको नेतृत्वमा शनिबार प्रदर्शन भएको हो। धरानको छाता चोकबाट सुरू भएको जुलुसले धरान बजार परिक्रमा गरेको थियो।
प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र साहको शैली विरूद्ध चर्को नाराबाजी गरेका थिए। प्रदर्शनमा सहभागीहरूले नागरिकलाई आवासको हक संविधानले नै ग्यारेन्टी गरेको विषय राज्यले बिर्सेको बताएका थिए। नेपाल बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष कुमार कार्कीले सरकारी दमनको निन्दा गर्दै सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएर राज्य आतंक मच्चाएको आरोप लगाएका थिए। प्रदर्शनमा हजारौँ सकुम्बासीको सहभागिता थियो। प्रदर्शनमा राजनीतिक दलहरूले समेत साथ दिएका थिए।
















