नेपाल लाइफको वार्षिकोत्सवमा स्वास्थ्य शिविर र रक्तदान अभियान
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रममै सीमित नराखी समाजसेवासँग जोड्दै स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रमलाई अघि बढाएको हो । कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ९ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।
शिविरमा विभिन्न प्रकारका सामान्य स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइएको छ भने भोलि पनि सोही स्थानमा स्वास्थ्य शिविर निरन्तर सञ्चालन हुने कम्पनीले जनाएको छ । शिविरमा सर्वसाधारण, बीमा अभिकर्ता तथा कम्पनीका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको छ । त्यसैगरी, कमलादीस्थित हेरिटेज प्लाजामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । “Life is precious, let’s uplift it together” भन्ने सन्देशसहित आयोजना गरिएको उक्त कार्यक्रममा ठूलो संख्यामा सहभागीहरूले रक्तदान गरेका छन् । जीवन रक्षासँग प्रत्यक्ष जोडिएको रक्तदान कार्यक्रममार्फत कम्पनीले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गरेको छ ।















