महासंघको अध्यक्षको रूपमा अन्जन श्रेष्ठले गर्ने छन् यी मुख्य पाँच काम

काठमाण्डौं । उद्योग वाणिजय महासंघले सोमबार ६०औं वार्षिक साधारण सभा मनाइरहेको छ। बुधबार महासंघको नयाँ कार्यसमितिको निर्वाचन हुँदैछ। महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधान छ। २०७३ सालपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था लागु भएको थियो। तर २०८१ को संशोधित विधानले यो व्यवस्था परिवर्तन गरेको छ। अब अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुने छैन। वरिष्ठ उपाध्यक्ष निर्वाचित कार्यसमितिबाट चयन गरिनेछ। अहिले उपाध्यक्ष र कार्यसमिति सदस्यमा मात्र निर्वाचन हुनेछ। यसै अनुसार यसपटक वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले भावी अध्यक्षको रूपमा महासंघको नेतृत्व गर्ने भएका छन्। श्रेष्ठले आफ्नो तीन वर्षे कार्यकालमा महासंघ नेतृत्वमा रहेर यी पाँच कामलाई मुख्य प्राथमिकतामा राख्ने बताएका छन्।
श्रेष्ठले आफ्नो कार्यकालमा गर्ने भनेका मुख्य पाँच कामः
पहिलो- निजी क्षेत्र र सरकारबीचको सम्बन्धलाई पुनःपरिभाषित गरिनेछ। निजी क्षेत्रलाई साक्षी होइन, सहकार्यकर्ता मान्ने वातावरण निर्माण गर्न निरन्तर पहल गरिनेछ। नीति निर्माण, बजेट तर्जुमा, ऐन कानुन निर्माण तथा अन्तर्राष्ट्रिय वार्तामा निजी क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनेछ।
दोस्रो- निजी क्षेत्रप्रतिको सामाजिक धारणा परिवर्तन गर्न अभियान सञ्चालन गरिनेछ। उद्यमीलाई शोषक होइन, सम्पत्ति सिर्जना गर्ने शक्तिका रूपमा र व्यवसायीलाई कर छली गर्ने होइन, राज्यको सहयात्रीका रूपमा स्थापित गर्ने प्रयास गरिनेछ।
तेस्रो- निजी सम्पत्ति, व्यावसायिक हक तथा लगानीको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी पैरवी गरिनेछ। व्यावसायिक विवादलाई फौजदारीकरण गर्ने प्रवृत्ति, अग्रिम धरौटीको अभाव, तथा विवाद समाधानको ढिलो प्रक्रियाजस्ता समस्याको सुधारमा महासंघले नेतृत्वदायी भूमिका खेल्नेछ।
चौथो- नेपालमा निजी लगानी अभिवृद्धि गर्न ठोस पहल गरिनेछ। स्वदेशी पुँजीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने, आन्तरिक लगानी सक्रिय बनाउने तथा विदेशी लगानी आकर्षित गर्न अनुकूल नीतिगत वातावरण निर्माणका लागि सरकारसँग नियमित र परिणाममुखी संवाद गरिनेछ।
पाँचौँ- जिल्ला, नगर, वस्तुगत तथा क्षेत्रगत उद्योग वाणिज्य संघहरूको क्षमता र प्रभावकारिता अभिवृद्धि गरिनेछ। महासंघलाई केन्द्रमा मात्र सीमित नराखी देशभर सदस्यहरूको सशक्त आवाज बनाइनेछ। साथै, महासंघ सचिवालयलाई व्यावसायिक, सक्षम र सेवामुखी बनाइनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *