प्रिमियरको उद्यमशील प्रदर्शनीमा विद्यार्थीद्वारा व्यावसायिक योजना प्रस्तुत
काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलमा उद्यमशील प्रदर्शनी आयोजना गरी विद्यार्थीको व्यावसायिक अवधारणा तथा योजना प्रस्तुत गरिएको छ । प्रदर्शनी कार्यक्रमले युवा नवप्रवर्तक, उद्योग क्षेत्रका विद्वान तथा अभिभावकलाई एकै स्थानमा ल्याउँदै विद्यार्थीद्वारा सञ्चालित व्यावसायिक अवधारणाको प्रेरणादायी प्रस्तुति दिएको थियो । विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत आयोजना गरिएको प्रदर्शनीमा कक्षा ११ का एनईबी व्यवस्थापनका विद्यार्थी र आईबीडीपी पहिलो वर्षका विद्यार्थीले स्थानीय नेपाली स्रोतहरूमा आधारित पूर्ण व्यावसायिक अवधारणाहरू निर्माण गरेका थिए । प्रत्येक समूहले आफ्नो व्यवसायिक योजना सम्मानित निर्णायक मण्डलसमक्ष प्रस्तुत गर्दै सुझाव र सम्भावित लगानीको अपेक्षा गरेका थिए । जसले वास्तविक स्टार्टअप इकोसिस्टमको अनुभव दिलाउँदै कक्षाकोठाभन्दा बाहिरको व्यवहारिक सिकाइलाई प्रोत्साहन गरेको थियो ।
कार्यक्रमको निर्णायक मण्डलमा ब्राइट लिनहार्ट (संस्थापक, कर्मा कफी), विनी बज्राचार्य (संस्थापक, अबिर) तथा जीतेन्द्र रञ्जीत (संस्थापक, अभानी एर्डभर्टाइजिङ)को सहभागिता थियो । निर्णायक मण्डलको अनुभव र सुझावले विद्यार्थीलाई दिगो तथा विस्तारयोग्य व्यवसाय निर्माणबारे व्यावहारिक दृष्टिकोण प्रदान गर्यो । कार्यक्रममा जम्मा छ वटा नवप्रवर्तनशील व्यवसायिक अवधारणाहरू प्रस्तुत गरिएका थिए । जसमा प्राकृतिक सामग्रीबाट बनेको मच्छर भगाउने मिस्ट, फुरान्दाना आधारित स्वास्थ्यकर खाजा, भेगन डेयरी विकल्प उत्पादन श्रृंखला, परम्परागत ढाका कपडामा आधारित व्यवसाय, नेपालका सातै प्रदेशका अचारलाई समेट्ने व्यवसाय र दिगो काठजन्य उत्पादनमा आधारित व्यवसाय थिए । यीमध्ये, ढाका कपडामा आधारित व्यवसाय ढाका फेसन परिधानलाई सर्वोत्कृष्ट व्यावसायिक प्रस्तावको उपाधिसहित प्रमाणपत्र प्रदान गरिएको थियो, जसले यसको उत्कृष्ट अवधारणा र कार्यान्वयनलाई मान्यता दिएको थियो।
















