दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

काठमाडौं । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्थापन गरेको छ । इन्धनको सहजताका लागि नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको हो । नयाँ व्यवस्थापनअनुसार विद्यालय सञ्चालन हुने पाँच दिन तथा पठनपाठन हुने अवधिसमेत समायोजन गर्न पाठ्यक्रम विकास केन्द्र, स्थानीय तह, शिक्षक, विद्यालय र सरोकार भएका पक्षलाई सास्ती भएको छ । समायोजनको उक्त आवश्यकतालाई ध्यान दिएर शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को यही वैशाख ११ गतेको बैठकबाट गठित कार्यदलको सुझावका आधारमा पाठ्यक्रम स्वीकृत गरिएको छ । उक्त स्वीकृत पाठ्यक्रमले तोकेअनुसार कार्यघण्टा मिलान गरिएको केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिए ।सरकारबाट निर्धारित सार्वजनिक बिदा, शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ अनुसार दिइएका बिदाबाहेकको व्यवस्था, प्रदेश र स्थानीय तहअन्तर्गत दिइने बिदासमेत हुँदा वार्षिक कार्यघण्टा पूरा गर्न विद्यालयलाई चुनौती हुँदै आएको छ ।

शिक्षा नियमावली, २०५९ को नियम ८५ (क को उपनियम ७ मा विद्यालयको एक शैक्षिकसत्रमा कम्तीमा २२० दिन पठनपाठन हुनेगरी व्यवस्था रहेको छ भने सोही नियमावलीको नियम ८५ (क को उपनियम ९ मा बडादसैँको घटस्थापनादेखि पूर्णिमासम्म विद्यालय बन्द रहने व्यवस्था गरिएको छ । नियम ५८ उपनियम ३ मा एक शैक्षिकसत्रमा दिइने बिदा वा बन्द बिदा बढीमा ४५ दिन रहने व्यवस्था छ । पाठ्यक्रममा तोकिएको विषयवस्तु, त्यसका लागि छुट्याइएको पाठ्यभार तथा विद्यालयले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापलाई समेत समन्वयिक व्यवस्थापन गर्दै अघि बढ्ने गरी केन्द्रले निर्देश गरेको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले प्रारम्भिक बालविकास तथा शिक्षाका लागि एक शैक्षिकसत्रमा वार्षिक रूपमा ७६५ घण्टा दैनिक सिकाइ क्रियाकलाप र विषयगत सिकाइ क्रियाकलाप सञ्चालन हुने भनेको छ । वार्षिक २६५ घण्टा मनोरञ्जन, बाह्य खेल, आराम तथा खाना खाने समय हुने र उक्त समयमा बालबालिकाले प्रारम्भिक बालविकास केन्द्रमा बिताउने पूरा अवधिलाई मानिएको छ । विद्यालय शिक्षाका सबै कक्षाका लागि एक शैक्षिक वर्षमा कम्तीमा २०५ दिन पठनपाठन सञ्चालन हुने, कक्षा १ देखि ३ सम्म जम्मा २६ पाठ्यघण्टा अर्थात् वार्षिक ८३२ कार्यघण्टाको पठनपाठन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापन गरिएको महानिर्देशक पौडेलले बताए । उनका अनुसार कक्षा ४ देखि ७ सम्म जम्मा ३२ पाठ्यघण्टा अर्थात् वार्षिक एक हजार २४ कार्यघण्टा र कक्षा ९, १०, ११ र १२ मा कम्तीमा ३७ पाठ्यघण्टा अर्थात् एक हजार १८४ कार्यघण्टादेखि बढीमा ४२ पाठ्यघण्टा अर्थात् एक हजार ३४४ कार्यघण्टा पठनपाठन गर्नुपर्ने हुन्छ । पठनपाठन सञ्चालनका लागि खर्च भएको ३२ घण्टाको समयावधिलाई एक पाठ्यघण्टा मानिने केन्द्रका महानिर्देशक पौडेलले बताए । तोकिएको पाठ्यघण्टा नघट्नेगरी विद्यालयको समयावधि निर्धारण गरी कक्षा सञ्चालन गर्दा सामान्यतया पाठ्यघण्टा गणना एक घण्टाको एकाइमा गरिने केन्द्रले जनाएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार २०५ दिन विद्यालय सञ्चालन गर्दा न्यून हुन आउने पठनपाठन दिन सङ्ख्या २१ र शिक्षा नियमावलीको नियम ८५ अनुसार २२० दिन विद्यालय खुल्ने व्यवस्थाअनुसार न्यून हुने दिन सङ्ख्या ३६ हुन आउँछ । अपुग भएर बाँकी हुन आउने २१८ दिनको समयमध्ये दैनिक १५ मिनेट प्रार्थना र २० मिनेट खाजा समय छुट्याउँदा ६ घण्टाको विद्यालय समयबाट पठनपाठनका लागि दैनिक रूपमा प्राप्त हुने समयावधि पाँच घण्टा २५ मिनेटका आधारमा वार्षिक पठनपाठनका लागि उपलब्ध समय ७५८ घण्टा हुनेछ ।

यसरी अपुग हुने पाठ्यघण्टालाई विद्यालय समयभन्दा अतिरिक्त समयमा गरिने परियोजना तथा प्रयोगात्मक कार्यलगायत सिकाइसम्बद्ध क्रियाकलापलाई विषयगत तथा बहुविषयगत सिकाइ उपलब्धिसँग आबद्ध गर्ने र यसरी सिकाइका लागि उपयोग हुने समयलाई वार्षिक कार्यघण्टामा समावेश गर्न केन्द्रले निर्देश गरेको केन्द्रका महानिर्देशक पौडेलले बताए । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालयमा सातामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई आफूहरूले समर्थन गर्दै कार्यान्वयनका लागि जोड दिएको बताए । उनले शिक्षक,कर्मचारीको पेसागत हितका विषयमा निर्णय लिँदा भने आफूहरूसँग परामर्श गर्नुपर्ने माग गरे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का महासचिव आरबी कटवालले आइतबार पनि विद्यालय बिदा दिने निर्णयलाई आफूहरूले लागू गरेको बताए । उनले पाठ्यक्रमले तोकेको कार्यघण्टा मिलानका लागि कतिपय सार्वजनिक बिदामा पनि पढाउने र वार्षिक परीक्षापछिको अवधिको समयलाई उपयोग गर्न सकिने सुझाव दिए । सरकारको उक्त निर्णयको अवज्ञा गरेर आइतबार पनि कक्षा सञ्चालन गर्ने विद्यालयको जिम्मेवारी आफूहरूले नलिने महासचिव कटवालले उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *