अस्ट्रेलियामा दुई लाख १३ हजार नेपाली
काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा नेपाली डायस्पोराको संख्या दुई लाख १३ हजार ५८० रहेको देखाएको छ । द इन्स्टीच्युट फ इन्टीग्रेटेड डेभलपमेन्ट स्टडिज् (आईआईडीएस)ले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको ‘नेपाली डास्पोरा इन अस्ट्रेलिया’ प्रतिवेदनमा सो कुरा उल्लेख छ । आईआईडीएसले उक्त अध्ययन प्रतिवेदन काठमाडौंस्थित अस्ट्रेलियन दूतावासको सहयोगमा तयार पारेको हो । प्रतिवेदनमा अस्ट्रेलियामा नेपाली समुदायको उल्लेखनीय वृद्धि भएको देखाइएको छ । अध्ययनले सन् २०२५ सम्म अस्ट्रेलियमा नेपाली डायस्पोराको संख्या दुई लाख १३ हजार ५८० पुगेको देखाएको छ । सन् २०२१ को अस्ट्रेलियाको जनगणनाले सो समय अस्ट्रेलियामा एक लाख २२ हजार ५०७ नेपाली डास्पोरा रहेको देखाएको थियो । पछिल्ला केही वर्षयता अस्ट्रेलियामा नेपाली डायस्पोराको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको अध्ययनले देखाएको थियो । सन् २०१४ को तुलनामा सन् २०२५ मा अस्ट्रेलियामा नेपाली डायस्पोराको संख्या पाँचगुणाले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार सन् २०२५ मा अस्ट्रेलियाको कुल जनसंख्याको ०.८ प्रतिशत नेपाली डायस्पोराको छ । सन् २०१५ मा यो प्रतिशत ०.२ रहेको थियो । अध्ययनका क्रममा अस्ट्रेलियामा रहेका एक हजार ८९ नेपालीसँग कुराकानी गरिएको थियो । सर्वेक्षणमा सहभागीमध्ये ६१.१६ प्रतिशतले उच्च शिक्षाको लागि आफूहरू अस्ट्रेलिया आएको बताएका थिए । सर्वेक्षणमा सहभागी धेरैजसोले अस्ट्रेलियाको स्वास्थ्य र हेरचाह, आईटी, आतिथ्य, इन्जिनियरिङ, वित्त र व्यावसायिक सेवाहरू जस्ता प्रमुख क्षेत्रहरूमा काम गरिरहेको बताएका थिए । सर्वेक्षणमा सहभागीमध्ये ४५.२७ प्रतिशतले वार्षिक ६५ हजार एकदेखि एक लाख २० हजार अस्ट्रेलियन डलर कमाउने बताएका थिए ।
प्रतिवेदनमा अस्ट्रेलियामा रहेका नेपालीको वार्षिक औसत आय ७७ हजार ३९ अस्ट्रेलियन रहेको उल्लेख छ । सर्वेक्षणमा सहभागीमध्ये ३४.९९ प्रतिशतले औपचारिक रूपमा विभिन्न क्षेत्रमा लगानी गरेको बताएका थिए । लगानी गर्नेहरूमध्ये ५१.१८ प्रतिशतले अस्ट्रेलियामा मात्र लगानी गरेको बताएका थिए । २२.५७ प्रतिशतले नेपालमा मात्र लगानी गरेको जनाएका थिए । अध्ययनले अस्ट्रेलियामा रहेका नेपाली डायस्पोराको नेपालमा रहेका परिवारसँगको सम्बन्ध मजबुत रहेको देखाएको छ । सर्वेक्षणमा सहभागी ५०.२७ प्रतिशतले परिवार र साथीहरूलाई भेट्न नेपाल जाने गरेको बताएका थिए । यस्तै, ३७.७४ प्रतिशतले हरेक दुईदेखि तीन वर्षमा नेपाल जाने र १०.३८ प्रतिशतले प्रत्येक वर्ष नेपाल जाने जनाएका थिए । सर्वेक्षणमा सहभागी ६१.७१ प्रतिशतले आफूहरू अस्ट्रेलियामा बस्ने इच्छा व्यक्त गरेका थिए । प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागीमध्ये ७३.०४ प्रतिशतले दोहोरो नागरिकताले नेपाली पहिचान र आत्मीयताको भावनालाई बलियो बनाउन विश्वास व्यक्त गरेका थिए । यस्तै, ६६.३९ प्रतिशतले दोहोरो नागरिकताले नेपालमा थप लगानी प्रोत्साहन गर्ने बताएका थिए ।

















