ग्यालेक्सी टीभीको उपकरण लिलाम हुँदै, १५ दिनभित्र लैजान जीबी राईलाई काठमाडौं महानगरको अल्टिमेटम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि. (ग्यालेक्सी फोरके टेलिभिजन) लाई आफ्ना सरसामान लैजान १५ दिनको अन्तिम म्याद दिएको छ । महानगरले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र घरधनीलाई तिर्नुपर्ने बहाल रकम बुझाई सामान नलगेमा ती सामानहरू लिलाम गर्ने चेतावनी दिएको हो । काठमाडौँ महानगरपालिका वडा नं. ३ बस्ने मृगेन्द्र प्रसाद मिश्रले आफ्नो घरजग्गा खाली गराई पाऊँ र बाँकी भाडा असुल गरिपाऊँ भन्दै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राई विरुद्ध मुद्दा दायर गरेका थिए । महानगरपालिकाको न्यायिक समितिले २०८१ साल कात्तिक १४ गते नै घरजग्गाको बहाल रकम भराई घर खाली गरिदिने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र महानगरको निर्णय कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो । अदालतको आदेश अनुसार महानगरपालिकाले २०८२ साल कात्तिक १४ गते नै उक्त घर खाली गराएको थियो । तर, घर खाली गराएको ६ महिना बितिसक्दा पनि गोरखा मिडियाले त्यहाँ रहेका आफ्ना सामानहरू नलगेपछि घरधनी मिश्रले ती सामान लिलाम गरी पाऊँ भनी २०८३ वैशाख २१ गते महानगरमा निवेदन दिएका थिए ।
महानगरद्वारा जारी सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र घरधनी वादीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई आफ्नो सरसामान लैजान यो अन्तिम सूचना प्रकाशित गरिएको छ ।’ महानगरले तोकिएको १५ दिनभित्र सामान नलगेमा ‘काठमाडौँ महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५’ को दफा ७० बमोजिम ती सामानहरू लिलाम प्रक्रियाबाट बिक्री गरिने स्पष्ट पारेको छ । ग्यालेक्सी ४के टेलिभिजनका अध्यक्ष जीबी राई हाल फरार रहेका छन् । सोही मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति र प्रतिनिधि सभा सांसद समेत हुन् । टेलिभिजन बन्द भएपछि कर्मचारी र घरधनीले लामो समयदेखि पारिश्रमिक र भाडा पाउन नसकेको बताइएको छ ।











