यू १९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलोपटक आयोजना हुन लागेको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जेठ २२ (शुक्रबार) देखि असार १ सम्म चल्ने प्रतियोगिताको खेल तालिका सर्वाजनिक गरेको हो । प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन् । कालिञ्चोक क्रिकेट मैदानमा हुने दिनको पहिलो खेलमा घरेलु टोली कर्णाली प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्नेछ ।
सोही मैदानमा हुने दिनको दोस्रो खेलमा वाग्मती प्रदेश र गण्डकी प्रदेश आमनेसामने हुनेछन् । कर्णाली प्रदेश रंगशालाको माथिल्लो मैदानमा कोसी र सुदूरवपश्चिम प्रदेश भिड्नेछन् । प्रतियोगितामा सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहनेछ । यो प्रतियोगितालाई आईसीसी यू–१९ महिला विश्वकपका लागि नेपाली टोली छनोटको आधार मानिएको छ । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार रुपैयाँ तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

















